मेस्सीले पीएसजी छाड्ने पक्का, वार्षिक ४०० मिलियन डलरमा साउदी जान वार्ता हुँदै
एजेन्सी : अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको छ।
क्लबको अनुमतिबिना साउदी अरेबिया पुगेपछि दुई साताका लागि निलम्बनमा परेका उनले पीएसजी छाड्ने पक्का भएको चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले जनाएका छन्।
दुई दिनअघि परिवारसहित साउदी अरेबिया पुगेका उनलाई पीएसजीले बुधबारदेखि दुई साताका लागि निलम्बन गरेको थियो। मेस्सी साउदी अरेबियाका पर्यटन दूत पनि हुन्।
मेस्सीले पीएसजी छाड्ने भएपछि उनलाई भित्र्याउन बार्सिलोनाले पहल थालेको छ। तर उसलाई आर्थिक व्यवस्थापन ठूलो चुनौती बनेको छ। यदि बार्साले मेस्सीलाई फेरि ल्याउने हो भने झन्डै आधा दर्जन खेलाडी बेचेर रकम जुटाउनु पर्ने हुनसक्छ।
बार्सिलोनासँग रकमको अभाव हुँदा उता साउदी अरेबियाको लिगका लागि उनको सम्झौता गर्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रतिवर्ष ४०० मिलियन अमेरिकी डलरमा साउदीको क्लब अल–हिलालमा जानका लागि उनले वार्ता गरिरहेको ‘द टेलिग्राफ’ले दाबी गरेको छ।
यसअघि साउदीकै अल–नासर क्लबमा वार्षिक २०७ मिलियन अमेरिकी डलरमा क्रिस्टियानो रोनाल्डोसँग सम्झौता गरेको थियो। अहिले उनी सो क्लबमार्फत खेलिरहेका छन्।
वैशाख २१, २०८० बिहीबार ०८:३५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।