मोहम्मद शमीविरुद्ध गम्भीर आरोप लगाउँदै सर्वोच्च पुगिन् पत्नी हसीन जहाँ
एजेन्सी : भारतीय क्रिकेटर मोहम्मद शमीकी श्रीमती हसीन जहाँले आफूमाथि दाइजोको माग र विवाहेत्तर सम्बन्धको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दिएकी छन्।
हसीनले आफ्नो याचिकामा मोहम्मद शमीविरुद्ध दायर गरिएको आपराधिक मुद्दा चार वर्षदेखि विचाराधीन रहेको बताएकी छन्। आफ्नो याचिकामा उनले क्रिकेटर शमीमाथि धेरै गम्भीर आरोप लगाएकी छन्।
हसीनले भारतीय राष्ट्रिय क्रिकेट टोलीसँग भ्रमणका क्रममा शमीको यौनकर्मीसँग सम्बन्ध रहेको दाबी गरेकी छन्। शमीले हसीनका सबै आरोप अस्वीकार गर्दै आएका छन्।
हसीनले २८ मार्च २०२३ को कलकत्ता उच्च न्यायालयको आदेशको विरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गरेकी थिइन्। उनी र शमीबीचको विवादमा स्थानीय सत्र अदालतको निर्णयलाई उच्च अदालतले खारेज गर्न अस्वीकार गरेको थियो।
सत्र अदालतले शमीविरुद्ध जारी गरेको पक्राउ पुर्जीमा रोक लगाएको थियो। आफ्नो २० पृष्ठको याचिकामा हसीनले शमीमाथि विवाहपछि दाइजो मागेको र विवाहपछि यौनकर्मीसँग विवाहबाह्य सम्बन्ध राखेको दाबी गरेकी छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उपलब्ध गराएको होटलको कोठामा यौनकर्मीको सेवा लिएको उनको दाबी छ। हसीनले सन् २०१८ मा मोहम्मद शमीविरुद्ध घरेलु दुर्व्यवहार, हिंसा र विवाहबाह्य सम्बन्धको आरोप लगाएकी थिइन्।
सन् २०१८ मा कोलकाता प्रहरीको महिला अपराध शाखाले शमी र उनका भाइ मोहम्मद हसीबसँग सोधपुछ गरेको थियो। अलिपुरको एक अदालतले शमीविरुद्ध पक्राउ पूर्जी पनि जारी गरेको थियो। तर, पछि यो पूर्जी रोकियो।
हसीनले शमीमाथि म्याच फिक्सिङको आरोप पनि लगाएकी छन्। यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि आफ्नो अनुसन्धानमा मोहम्मद शामीलाई क्लिन चिट दिएको थियो।
यस वर्षको जनवरीमा कोलकाताको एक अदालतले शमीलाई हसीनलाई हरेक महिना ५० हजार भारू दिन आदेश दिएको थियो। हसीनले पछि शमीसँग हरेक महिना १० लाख भारु रकम मागेकी थिइन्। तर, यस विषयमा अहिलेसम्म निर्णय भइसकेको छैन।
वैशाख २०, २०८० बुधबार १४:०२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।