एसीसी प्रिमियर कप जितेका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय
काठमाडौं : सरकारले एसीसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख तथा राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो।
एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनोटट भएको छ। एसिया कपमा नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ।
साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ।
वैशाख २०, २०८० बुधबार १२:५७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।