नयाँ-पुराना नेताहरूलाई चोरको संज्ञा दिने बालेन आफैँ पनि चोर भएनन् र?

नयाँ-पुराना नेताहरूलाई चोरको संज्ञा दिने बालेन आफैँ पनि चोर भएनन् र?

काठमाडौं : मंगलबार राति करिब ११ बजे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘नयाँ, पुरानो सबै नेताहरू चोर’ भएका फेसबुकमा स्टाटस लेखे। जहाँ उनले कसैलाई देशको माया नै नभएको समेत अभिव्यक्ति दिएका छन्। 

मेयर बालेनको यस्ता विवादित र स्टन्टबाला फेसबुके टिप्पणी पहिलो पटक भने आएको हैन। केही समयअघि सिंहदरबारको फोहोर नउठाउने भनेर फेसबुकबाटै जोरी खोजेका उनले आफूलाई संघीय सरकारले बेवास्ता गरेको र काम गर्न नदिएको आरोप लगाउँदै आएका छन्। 

महानगरपालिकाभित्र अनधिकृत रूपमा बनेका संरचना र सुकुमबासी बस्तीमाथि आक्रामक भइरहेका बालेन आफूले गरेका काम र गर्न खोजेका सबै काम सामाजिक सञ्जालमा राखिरहन्छन्। अनि विवादित हुन पुग्छन्। 

केही समयअघि पनि तीनकुनेस्थित सुकुमबासी बस्तीमा डोजर लिएर पुगेका उनलाई त्यहाँका स्थानीयले आन्दोलन नै गरेपछि फर्किए।

त्यस क्रममा आफूलाई संघीय प्रहरीले साथ नदिएको आक्रोशमा उनले सिंहदरबारको फोहोर नउठाउने मात्र होइन, महानगरभित्रका फुटपाथ ओगटेर बसेका सबै संरचना जतिसक्दो चाँडो हटाउन र नहटाए भत्काइदिने सामाजिक सञ्जालबाटै चेतावनी दिए।

उनको उक्त स्टाटस प्रहरीकेन्द्रित थियो। महानगरको प्रहरीसहित सुकुमबासी बस्ती हटाउन पुगेका उनलाई संघीय प्रहरीले साथ नदिएपछि त्यो रिस पोखेका थिए। 

त्यस्तै उनले गएको चैत ३० पनि काठमाडौँबाट सिंहदरबार अन्य पालिकामा सार्न आक्रोशपूर्ण फेसबुक स्टाटस लेखेका थिए। जहाँ उनले आफूलाई सिंहदरबारले काम गर्न नदिएको भन्दै गुनासो गरेका थिए। उनले लेखेका थिए-'हामीलाई हाम्रो सम्पदा संस्कृति कला र सभ्यता चाहिन्छ, राजनीति हैन।'

निर्वाचति भएर पद सम्हालेदेखि नै संघीय सरकारसँग गुनासो र जोरी खोज्दै आएका मेयर बालेनले हिजो सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिले भने उनको पदीय मर्यादा सतहमै ल्याइदिएको छ।

काठमाडौं महानगरभित्र गर्नुपर्ने धेरै काम छन्। तर उनले बारम्बार आफूले काम गर्न नपाएको झोंकमा सामाजिक सञ्जालमा नचाहिँदा अभिव्यक्ति दिइरहेका छन्। 

सडकमा रहेको फहोर व्यवस्थापन, फुटपाथ व्यवस्थापन, भूमिगत पार्किङमा कडा नियम, टुकुचा खोला खोज्ने अभियान, सुकुमबासी बस्ती व्यवस्थापनमा जुधेका उनले आफूलाई कतैबाट साथ नपाएको बताइरहेका छन्। 

जसका कारण उनी आफूले हात हालेको काम सफल हुन नसक्दा र कुनै रोकटोक आए तुरुन्त सामाजिक सञ्जालमा आउँछन् अनि निम्छरो अभिव्यक्तिमा उत्रिन्छन्। 

राजनीतिमा रहेका नयाँ तथा पुराना नेताहरूलाई चोरको संज्ञा दिनु उनको पदीय मर्यादाभित्र पर्दैन। सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्पिङ गर्नुपर्नेसम्म अभिव्यक्ति दिनु उनको आक्रोश मात्र हो। मेयरको पदमा रहेर सार्वजनिक रूपमा यसरी बोल्नुले उनको कच्चा चरित्र उजागर भइरहेको छ। 

बेलाबेलामा राजनीतिक दल र तिनका गतिविधिमाथि पनि सामाजिक सञ्जालमा लेख्ने गरेका मेयर बालेनको अभिव्यक्तिप्रति दलहरूका नेताहरूले टिप्पणी गरे पनि त्यसतर्फ भने उनले बेवास्ता गर्ने गरेका छन्। 

आफूलाई काम गर्न नदिइएको भन्दै उनले बारम्बार सामाजिक सञ्जालमा आक्रोश पोख्छन्। मध्यरातमा ‘काम गर्न देऊ’ भन्दै सामाजिक सञ्जालबाटै सहानुभूति पनि खोज्छन्।

राजनीतिप्रति आम नागरिकको वितृष्णालाई उनले राम्रोसँग बुझेका छन्। जसको जगमा उनी सामाजिक सञ्जालबाटै आफू मात्र यो देशका लागि सही र अरू गलतको भाष्य बनाउन लागिपरेका छन्। 

देशभर ७५३ स्थानीय तह छन्। महानगरपालिका मात्र देशभर ६ वटा छन्। ललितपुर महानगरपालिका पनि काठमाडौँ उपत्यकाभित्र पर्छ। तर त्यहाँका मेयरले राजनीति र नेताहरूलाई सार्वजनिक रूपमा दोषारोपण गरेको अभिव्यक्ति दिएको भेटिँदैन। 

काठमाडौं महानगरपालिका देशको राजधानी शहर हो। सम्पदाको शहर काठमाडौंको व्यवस्थापन अन्य स्थानीय तहभन्दा जटिल अवश्य हुन्छ। तर मेयरको यस्तो खालको कच्चापनले काठमाडौंको समस्या सुल्झिएला? 

राजनीति र नेतालाई गाली गरेर आफू चोखिने दाउ
मंगलबार राति सामाजिक सञ्जालमा बालेनले पोखेको आक्रोशले उनी पनि त चोर नै हुन् भन्ने अर्थ लाग्दैन र ? स्वतन्त्र उम्मेदवारी दिएर महारनगरको चुनाव जितेका उनी पनि त नेता नै हुन्। उनका पछाडि पनि लाखौँ नागरिक छन्। यो उनले हेक्का राखेनन्। 

नयाँ दल र नयाँ पुस्तामाथि जनविश्वास बढ्दै जाँदा उनले आफू पनि नेता भएको बिर्सिएर अभिव्यक्ति दिए। आफूलाई नेता मान्ने जमात ठूलै भएको थाहा पाउँदा पाउँदै उनले यसरी अभिव्यक्ति दिनु स्वयं पनि चोर नै हुँदैनन् र ? 

अरूलाई सत्तोसराप गरेर यस्तो अभिव्यक्ति दिनु उनको चोखिने दाउ मात्र हो। 

२० बैशाख, २०८०, १२:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।