११ महिनामा दोस्रो पटक बलात्कृत भइन् ११ वर्षीया बालिका, लोकसेवा तयारी गर्ने युवकले गरेका थिए बलात्कार
सुर्खेत : जाजरकोट बस्दै आएकी ११ वर्षीय बालिका २०७७ भदौमा वीरेन्द्रनगर–१२ मा दिदीसँगै बसेर पढ्ने उदेश्यले सुर्खेत झरिन्। एक सामुदायिक विद्यालयमा कक्षा ३ मा भर्ना भएर अध्ययन थालिन्।
२०७८ भदौ ४ गते वीरेन्द्रनगर बसेर लोकसेवाको तयारी गरिरहेका हुम्लाका २३ वर्षीय प्रकाश जैसीले सडक छेउको झाडीमा लगेर उनलाई बलात्कार गरे। साँझ सात बजे साइली दिदीको कोठाबाट ठूली दिदीको कोठामा जाँदै गर्दा बाटोमै उनी बलात्कृत भइन्, त्यतिबेला उनी मात्र १० वर्षकी थिइन्।
बलात्कार गर्दा चिच्याएपछि नजिकैका एक जना युवाले देखे। प्रहरीलाई खबर गरेपछि उनी रङ्गेहात पक्राउ परे। ती युवासँगै साथमा रहेका २६ वर्षीय रामकृष्ण जैसीलाई पनि मतियार भएको भन्दै अदालतले तीन लाख धरौटीमा तीन महिनापछि छोड्यो। प्रकाशले भने अहिले कारागारमा सजाय भोगिरहेका छन्।
२०७९ साउन ४ गते उनी दोस्रो पटक दिदीको कोठामै स्थानीय २१ वर्षीय मनन् सापकोटाबाट बलात्कृत भइन्। ११ महिनाको बीचमा उनी दोस्रोपटक फरक–फरक व्यक्तिबाट बलात्कृत भइन्। अहिले त पीडितलाई ‘होस्टायल’ गरेर पीडक सापकोटा धरौटीमा छुटेका छन्।
त्यो बेला पनि घटना ‘होस्टायल’ गर्नका लागि विपक्षीका वकिल र आफन्तले पैसा र सम्पत्तिको लोभ देखाए। तर देख्ने सुन्ने स्थानीय युवाले बयान नफेर्दा प्रकाश अहिले कैदमा छन्।
‘भदौ ४ गते ठूली दिदीको कोठामा जाँदै गर्दा बहिनी बलात्कृत भइछ। बहिनी दिदीको घरमा गएकी छ भनेर म त घरमै थिएँ। उसलाई त प्रहरीले लिएर प्रदेश अस्पताल लगेको रैछ,’ पीडितकी दिदिले उकेरासँग भनिन्, ‘भोलिपल्टको बिहान प्रहरीले फोन गरेपछि थाहा पायौं, त्यो घटनामा विपक्षीका वकिल र आफन्तले पाँच लाख पैसा र धन सम्पत्तिको आश देखाएका थिए। तर, प्रहरी र देख्ने दाइले बयान फेरेनन्, हामीले पनि अडान लिएपछि दोषीलाई कारबाही भएको थियो।’
दोषीलाई कारबाही भए पनि पीडकबाट क्षतिपूर्ति नभइराइएकोमा अदालत र न्यायाधीशप्रति उनको गुनासो छ।
‘त्यतिबेला बहिनीको शरीरमा चोटपटक लागेको थियो, यौनाङ्ग च्यातिएको थियो। टाँका लगाएर चार महिनासम्म उपचार गरियो। दोषीलाई कारबाही भए पनि हामीलाई क्षतिपूर्ति भने उपलब्ध गराइएन,’ पीडितकी दिदिले भनिन्, ‘अहिलेको यो घटनामा त दोषीलाई पनि धरौटीमा छोडियो, पीडकलाई त झनै न न्याय न क्षतिपूर्ति।’
दोस्रोपटकको बलात्कारमा पनि प्रहरीबाट सत्यतथ्य प्रमाण पेश गरे पनि अदालतमा गएपछि आर्थिक लेनदेनमा गएर मुद्दा ‘होस्टायल’ भएको घटनास्थलमै पुगेर मुचुल्का तयार गर्ने प्रहरी हवल्दार बताउँछन्।
‘त्यो घटनामा म आफैँ गएर सबै तथ्यहरू ल्याएर अनुसन्धान अगाडी बढाइएको थियो। दोषीहरु शत प्रतिशत सजाय पाउने स्थितिमा थिए। पछि प्रहरीको रिपोर्टलाई पनि लत्याउँदै पीडितले नै लेनदेनको आश्वासनमा बयान बदलेपछि यो अवस्था आएको हो, ’ ती प्रहरी हवल्दारले भने, ‘पीडकहरू हामीसँग पनि मिलाइदिनपर्यो भनेर धाउँथे। हामीले कानूनअनुसार मात्र कुरा हुने भनेपछि पीडितसँग नै मिल्ने योजना बुनेर अगाडी बढेछन्।’
अहिले मनन सापकोटालाई अदालतले चैत २२ गते एक लाख रूपैयाँ धरौटीमा छाड्दा उनको साथमा गएका २३ वर्षीय कृष्ण रिजाललाई मतियार भएको भन्दै २०७९ भदौ २२ गते ४५ हजार धरौटीमा जिल्ला अदालत सुर्खेतले तारेखमा छोडेको थियो।
यो विषयमा उकेराले निरन्तर फ्लोअप गदै आएको छ।
११ वर्षीय बालिकासम्बन्धी थप सामग्रीः
वैशाख २०, २०८० बुधबार १०:५४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।