घटे प्रेस स्वतन्त्रता उल्लंघनका घटना, तर औंला काट्नेदेखि हातखुट्टा भाँच्नेसम्मका धम्की यथावत्

घटे प्रेस स्वतन्त्रता उल्लंघनका घटना, तर औंला काट्नेदेखि हातखुट्टा भाँच्नेसम्मका धम्की यथावत्
तस्बिर- एएफपी

काठमाडौं : पर्वतको एक गाउँपालिकाका वडाध्यक्षले निर्वाचनको दिन मतदान केन्द्रमा आफूबारे समाचार लेखे पत्रकारको औंला काट्नेदेखि हात खुट्टा भाँच्नेसम्मका धम्की दिए। उनले निर्वाचनका क्रममा पत्रकारले आफ्नो दुष्प्रचार गरेको आरोपसमेत लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नागरिकता र राहदानी मुद्दा तथा तत्कालीन उपराष्ट्रपतिका छोरा दिपेश पुन संलग्न सहकारीको विषयमा उकेरा डटकममा प्रकाशित पाँच वटा समाचार मेटाइयो र त्यसको ठाउँमा असम्बन्धित सामग्री राखियो।

निर्वाचन नजिकिँदै गर्दा वरिष्ठ पत्रकार किशोर नेपालको मोबाइल फोन ब्लक भयाे। सामाजिक सञ्जाल एकाउन्ट ह्याक भयो। मोबाइल फोन केही दिनपछि खुले पनि सामाजिक सञ्जालका एकाउन्ट लामो समयदेखि बन्द भए।

रास्वपाका सभापति रवि लामिछानेको नेपाली नागरिकताबारे प्रश्न गर्ने भिडियो पोस्ट गरेपछि उकेरा डटकमका प्रधान सम्पादक तथा पत्रकार केपी ढुंगानाले सामाजिक सञ्जालमा गालीगलौज र धम्कीपूर्ण सन्देश पाए।

सप्तरीमा स्थानीय नेतृत्वका बारेमा आलोचना गरेको भन्दै पत्रकार तथा सूचनाको अधिकारका अभियन्ता कैलाश माझीलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ गरियो। जिल्लामा निर्माण उपभोक्ता समितिका गतिविधिबारे सूचनाको अधिकारको प्रयोग गरी जानकारी लिएपछि उनलाई पक्राउ गरियो। चार दिनपछि १५ सय रूपैयाँ जमानतमा उनलाई छाडियो।

पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रतिनिधिसभाका सभामुखले पत्रकारलाई बदनाम गरे। निर्वाचन आयोगले निर्वाचनको समयमा सेतापाटीलाई समाचार हटाउनै निर्देशन दियो भने प्रेस काउन्सिल नेपालले नागरिक दैनिकलाई प्रधानमन्त्रीको विषयमा कार्टुन छापेको विषयमा स्पष्टीकरण सोध्यो।

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा गत वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लंघन सम्बन्धी भएका घटनाका केही उदाहरण हुन् यी। फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा कमी आए पनि धम्की दिने प्रवृत्ति यथावत नै छ।

२०२२ को मे देखि २०३३ अप्रिलसम्म दर्ता भएका प्रेस उल्लंघनका ४० घटनामा आठ महिला र चार मिडिया हाउससहित ७९ सञ्चारकर्मी प्रभावित भएका छन्। अघिल्लो वर्ष ५५ घटनामा भएकोमा ९६ सञ्चारकर्मी प्रभावित भएका थिए।

यस वर्ष प्रभावित ७९ सञ्चारकर्मीमध्ये २९ जनाले अवरोधको सामना गर्दा २२ जनामाथि आक्रमण भयो भने १६ जनाले मौखिक रूपमा दुर्व्यवहार भोग्नुपर्यो। आठ जनाले धम्की वा ज्यान मार्ने धम्की पाए।

यस्तै, चार जना पक्राउ पर्दा तीन मिडिया हाउसमाथि आक्रमण भएको थियो। एकमा त तोडफोड नै भयो।

अधिकांश घटनामा सुरक्षा निकाय, राजनीतिक कार्यकर्ता तथा निजामती कर्मचारीबाट पत्रकार प्रभावित भएका छन्। चार मिडिया हाउसमध्ये तीनमा राजनीतिक कार्यकर्ताले आक्रमण गरेको फ्रिडम फोरमले जनाएको छ।

डिजिटल प्लेटफर्म/अनलाइनमा सार्वजनिक र सञ्चारमाध्यमको बढ्दो गतिविधिका कारण साइबर स्पेसमा सञ्चारकर्मी र प्रेसमाथि आक्रमणको सम्भावना उच्च भएको फोरमले जनाएको छ।

खोज पत्रकार र स्वतन्त्र प्रेसमा डिजिटल/साइबर निगरानी आगामी दिनहरूमा बढ्ने भन्दै फोरमले सुरक्षित रूपमा अधिकारको प्रयोग गर्न आवश्यक सीप र ज्ञानले डिजिटल रूपमा पत्रकार सुसज्जित हुनुपर्नेमा जोड दिएको छ।

वैशाख २०, २०८० बुधबार ०८:३२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।