अस्वभाविक जीवनशैली देखिएपछि तत्कालीन उपसचिवविरुद्व १ करोड १५ लाख भ्रष्टाचार मुद्दा दायर

अस्वभाविक जीवनशैली देखिएपछि तत्कालीन उपसचिवविरुद्व १ करोड १५ लाख भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्व १ करोड १५ लाख रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भट्टराईले सरकारी सेवामा रहँदा कमाएको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ।

अख्तियारका प्रवक्ता भोला दाहालले भट्टराईको सरकारी सेवा प्रवेश २०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको, तर उनको खर्च भने ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको जानकारी दिए।

अख्तियारले भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको हो।

१९ बैशाख, २०८०, २०:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।