फैसला नजिकिँदै गर्दा त्रिवि मैदानमा सन्दीप भन्छन्- ‘थाहा छैन के हुनेछ यसपछि’

फैसला नजिकिँदै गर्दा त्रिवि मैदानमा सन्दीप भन्छन्- ‘थाहा छैन के हुनेछ यसपछि’

काठमाडौं : आफूविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको फैसला नजिकिँदै गर्दा मंगलबार त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने भावुक सुनिए।

एसीसी पुरुष प्रिमियर कपको फाइनल खेलपछि भएको पोस्टम्याच प्रिजेन्टेसनमा लामिछानेले दर्शकमाझ नेपालीमै आफ्ना भनाइ राखे। आफ्ना कुरा दर्शकमाझ राख्दै गर्दा उनी भावुक बन्दै गइरहेका सुनिन्थे।

उनले खेलमा उपस्थित भएका समर्थकलाई धन्यवाद दिँदै फ्यानहरू अब फ्यान मात्र नभएर नेपाली क्रिकेटको परिवार नै भइसकेको बताए।

‘फ्यानहरू अब फ्यान मात्र रहनुभएन, फ्यामिली भइसक्नुभयो। जुन तरिकाले तपाईंहरू हरेक खेलमा घाम, पानी, जे भए पनि आइसिन्छ। एकदम रमाइलो लाग्छ, सबै जनाको माझमा खेल्न पाउँदा।’

आफूहरूको लक्ष्य नेपाललाई माथिल्लो स्तरको क्रिकेटमा पुर्याउने रहेको भन्दै उनले नेपाली क्रिकेटको कहिल्यै नबिर्सने उपलब्धी पाएको बताए।

‘सम्पूर्ण टिमको तर्फबाट नेपाललाई धेरै माथिको स्तरमा पुर्याउने हाम्रो लक्ष्य हुन्छ,सन्दीपले भने, ‘यो एउटा नबिर्सने क्षण हो हामी सबैको लागि र क्रिकेटको लागि पनि।’

त्यसपछि बोल्दै गर्दा मैदानमा उपस्थित दर्शकले हुटिङ गरे। उनी केहीबेर रोकिए र भविष्यको अन्योलताबारे दर्शकमाझ खुले।

‘...थाहा छैन के हुनेछ यसपछि, तर सबैलाई अपार माया, सबैलाई हार्दिक धन्यवाद।’

वैशाख ११ गते उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुने भनिएको थियो।

तर जाहेरवालाको तर्फबाट बहस गर्ने वकिलले लामो समय लगाए। उनले मुद्दा हेर्दा-हेर्दैमा राख्न अनुरोध गरे पनि न्यायाधीश दीपक ढकालले मुद्दालाई हेर्दा-हेर्दैमा राख्न अस्वीकार गरेपछि तत्काललाई फैसला टरेको थियो।

वैशाख ११ गते मुद्दाको फैसला आएर सन्दीप दोषी ठहर भएको अवस्था त्यसपछिका खेलहरू उनले खेल्न पाउने थिएनन्। अब पुनः तोकिने जिल्ला अदालतको पेशीमा उनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुनसक्छ।

एसीसी प्रिमियर कपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ भएका सन्दीपले प्रतियोगिता अवधिभर १३ विकेट र ५५ रन बनाए।

कतारविरुद्धको खेलमा सबै खेलाडी सस्तैमा समेटिँदा उनले नै नेपालको इनिङ उकासेका थिए। नेपालले कुल १५७ रन बनाएको खेलमा उनले ४३ रनको अविजित पारी खेले भने बलिङतर्फ १४ रन खर्चिएर ५ विकेट लिए।

एसीसी प्रिमियर कपमा युएईलाई ७ विकेटले हराउँदै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको छ।

फाइनल खेलमा बलिङतर्फ ललित राजवंशी तथा ब्याटिङतर्फ गुल्सन झा र भीम सार्कीले उत्कृष्ट योगदान गरे। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको टोलीमा परेको छ।

वैशाख १९, २०८० मंगलबार १९:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।