स्वास्थ्य सचिव डा. पोखरेलको इन्ट्रेस्ट बाझिएपछि गेटा अस्पतालको १३ करोडको टेण्डर रद्द

स्वास्थ्य सचिव डा. पोखरेलको इन्ट्रेस्ट बाझिएपछि गेटा अस्पतालको १३ करोडको टेण्डर रद्द

काठमाडौं : गेटा अस्पतालले मेसिन, उपकरण तथा औजारलगायत सामग्री खरिदका लागि गराएको १३ करोड रूपैयाँभन्दा बढीको टेण्डर वैशाख ७ गते रद्द भयो। 

गेटामा यो आर्थिक वर्षमा २ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको थियो। जसका लागि अस्पतालले करिब १३ करोड ७१ लाख १२ हजार मूल्य बराबर सामग्री किन्न टेण्डर आह्वान गरेको थियो।

पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यसचिव डा. रोशन पोखरेलले अनावश्यक हस्तक्षेप गर्दै आएको उकेरालाई प्राप्त तथ्य प्रतिवेदन (बिड डकुमेन्ट)ले पुष्टि गरेको छ। 

भरतपुर अस्पतालमा २५ करोडको एमआरआई २९ करोड रूपैयाँमा किनाउन जोडबल लगाएका पोखरेलले गेटाका लागि भने मेसिन, उपकरण तथा औजारलगायत सामग्री खरिदका लागि आर्थिक स्रोतको कमी भएको भन्दै आह्वान  भइसकेको टेण्डर प्रक्रिया नै रद्द गराइदिए।  

‘बजेट घटेपछि स्रोत सुनिश्चित नभएकाले तत्काललाई टेण्डर क्यान्सिल गर्न सचिवज्यूले भन्नुभएको थियो’, मन्त्रालयका एक उच्च तहका कर्मचारीले उकेरासँग भने। 

पहिला स्वास्थ्य मन्त्रालयले बजेट दिने भनेपछि अस्पतालले टेण्डर प्रक्रिया बढाएको थियो। मन्त्रालय तयार भएपछि प्रक्रिया पनि बढ्यो। तर, सचिव पोखरेलको स्वार्थ बाझियो, अनि रद्द गराए। 

गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले अस्पतालले मेसिन, उपकरण तथा औजारलगायत सामग्री खरिदका लागि टेण्डर आह्वान गरे पनि मन्त्रालयबाट बजेट कटौती भएको जानकारी पाएपछि रद्द गर्नुपरेको पुष्टि गरे। 

‘स्वास्थ्य मन्त्रालयले बजेट सुनिश्चित गरे पनि अस्पताललाई बजेट दिइएको थिएन,’ निर्देशक जोशीले भने, ‘स्वास्थ्य मन्त्रालयमा जाने बजेट नै कटौती भएकाले टेण्डर आह्वान गरेको सामग्री खरिद गर्न बजेट नपुग्ने मन्त्रालयले जानकारी दिएपछि रद्द गर्नुपर्यो।’

अस्पताल सञ्चालनका लागि अन्य सामग्रीसमेत खरिद गर्ने योजना भए पनि टेण्डर रद्द भएसँगै यसको थप प्रक्रिया भने अन्योलमा परेको छ। तर ‘कोटेसन’ मा स-सानो रकमको सामान भने अस्पतालले खरिद गर्न सक्छ।

अस्पतालले २०७९ चैत १९ मा मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो भने प्रिबिड मिटिङका लागि २०८० वैशाख ८ लाई तोकेको थियो। 

तर, स्वास्थ्य सचिव डा. पोखरेलको मौखिक निर्देशनपछि प्रि-बिड मिटिङको अघिल्लो दिन नै अस्पतालले टेण्डर रद्द गर्ने निर्णय गर्यो।

टेण्डरका लागि सप्लायर्स कम्पनीले प्रस्ताव पेश गर्नुपर्ने अन्तिम मिति २०८० वैशाख १९ तोकेको थियो। सोही दिन दिउँसो २ बजेलाई टेण्डर खुल्ने समय राखिएको थियो।

यस्ता थिए १३ करोड ७१ लाखका सामान
गेटा अस्पतालले करिब १३ करोड, ७१ लाख १२ हजार मूल्यको मेसिन, उपकरण तथा औजारलगायत सामग्री किन्न टेण्डर खुलाएको थियो। तर, अस्पतालले टेण्डरमा राखेको तथ्याङ्क (बिड डकुमेन्ट) सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)मा सोमबार बेलुकी उकेराले खोज्दा भेटिएन।

रद्द भएकाले पीपीएमओबाट समेत टेण्डरको बिड डकुमेन्ट हटाइयो। अस्पतालले करिब २ करोड २ लाख रुपैयाँ मूल्यको फिल्म प्रिन्टर भएको ‘डिजिटल रेडियोग्राफी’ सिस्टमको एउटा मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

त्यसैगरी एक करोड ४८ लाख ८० हजारको एउटा हाई इण्डको ‘इको-कार्डियोग्राफी’ मेसिन खरिदका लागि टेण्डर भएको थियो। 

अस्पतालले ड्रिल मेसिनसहित एक करोड ५४ लाख ८० हजार मूल्यको एउटा ‘भिडियो आर्थोस्कोपी’ मेसिन खरिदका लागि पनि टेण्डर निकालेको थियो। एक करोड २ लाख ४० हजारको फोरडी इमेज भएको एउटा ‘अल्ट्रासाउण्ड मेसिन’ खरिदका लागि पनि टेण्डर भएको थियो। 

त्यस्तै अस्पतालले करिब एक करोड १९ लाख २० हजार मूल्यको एउटा ‘मोबाइल सी आर्म (ल्याप्रोस्कोपी)’ मेसिन खरिदका लागि पनि टेण्डर गरेको थियो। 

त्यसैगरी अपरेसन थिएटरमा आवश्यक एक करोड ४९ लाख ६० हजारका २ सेट ‘एनेस्थेसिया वर्कस्टेशन’ मेसिन र एक करोड २४ लाख ८० हजारका तीन सेट ‘इलेक्ट्रो हाइड्रोलिक टेबल’ खरिदका लागि टेण्डर भएको थियो। 

अस्पतालले ८६ लाख ६० हजार मूल्यको बच्चा र वयस्कका लागि आवश्यक तीन सेट ‘आईसीयू भेन्टिलेटर’ र २१ लाख ९२ हजारको आईसीयूमा नै आवश्यक सेन्सर भएको २ सेट ‘इन्यान्ट वार्मर’ खरिदका लागि टेण्डर निकालेको थियो। 

त्यसैगरी नाक, कान, घाँटी र दाँतको उपचारका लागि आवश्यक ५१ लाख ४० हजार मूल्यको एक सेट ‘एचडी भिडियो नासोफारिङ गोल्याङगोस्कोप’ सिस्टमको मेसिन र १८ लाख ४० हजार मूल्यको एक सेट ‘डेन्टल चियर (कुर्सी)’ खरिदका लागि पनि टेण्डर भएको थियो।

अस्पतालमा आवश्यक एक करोड ९१ लाख २० हजार मूल्यको बेडलगायत ‘फर्निचर’ सामग्री खरिदका लागि समेत टेण्डर आह्वान भएको थियो। 

अस्पताल चलाउने कि मेसिन किन्ने रहर ?

सामान्य किसिमका सामग्रीकै अभाव रहेका बेला व्यवस्थापन गरेर अस्पताल सञ्चालन सुरु गर्नुपर्नेमा अस्पताल नै महँगा उपकरण खरिद प्रक्रियामा गयो।

यसले कतै कमिसनको लोभले मेसिन, औजार तथा उपकरण खरिदमा अस्पताल केन्द्रित भएको त हैन भन्ने शंका उब्जिएको थियो। 

तर खरिदमा कमिसनको कल्पना पनि नगरेको अस्पतालका निर्देशक डा. जोशीले दाबी गरे।

अस्पतालले किन्न सक्ने उपकरण किनिरहेको र टेण्डर प्रक्रियामा जानुपर्ने उपकरण खरिदका लागि टेण्डर आह्ववान गरिएको उनले दाबी गरे।

अस्पताल सञ्चालनका लागि सुरुसुरुमा ट्रली, बेड, विस्तारा, कम्मल तथा ससाना मेसिन, औजार तथा उपकरण व्यवस्थापन गरेपछि मात्रै ठूला मेसिन, औजार तथा उपकरण खरिद गर्नुपर्ने मन्त्रालयका अधिकारीको तर्क छ। 

मन्त्रालयका ती कर्मचारीले सुरुमा अस्पताल सञ्चालनका लागि २५/५० बेड सञ्चालन गर्नेगरी योजना बनाउनुपर्ने बताए।

सुरुमा गेटा अस्पताल चलाउन एक अर्ब रुपैयाँभन्दा बढी रकम मागिएको थियो।

१९ बैशाख, २०८०, १८:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।