चौथो अंग : युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन

चौथो अंग : युट्युब जत्तिका पनि भएनन् अहिलेका टेलिभिजन
तस्बिर- कृष्पा श्रेष्ठ

२०६२/०६३ सालमा भएको दोस्रो जन-आन्दोलनताका नेपाली मिडिया निकै शक्तिशाली थिए, विश्वास र प्रभावको हिसाब दुवैले।

मिडियालाई आठौँ दलसमेत भन्थे। तलब नदिने केही मिडिया त थिए, तर पत्रकारको आर्थिक हैसियत अहिलेभन्दा त्यतिबेलै राम्रो थियो। मिडिया संख्या र कन्टेन्टको हिसाबले हेर्ने हो भने अहिले बढेकै देखिन्छ। भलै सन्तुष्ट हुनुपर्ने ठाउँ छैन।

६३ साललाई आधार मान्ने हो भने १७ वर्षे तन्नेरी भयो हाम्रो मिडिया। मान्छेकै उमेरको हिसाबलाई हेर्ने हो भने १७ वर्षको किशोर किशोरीलाई घरमा पनि खासै विश्वास गर्दैनन्, बाहिर पनि गर्दैनन्।  के गरी खालान् यिनले भन्ने प्रश्न गरिरहन्छन्।

पहिले मिडियासँग पाठक पत्र त पठाउँथे तर अहिले जस्तो ह्याण्डिल नै मेन्सन गरेर खुलेआम सोध्ने माध्यम थिएन। त्यसकारण मिडियालाई प्रश्न सोध्न पनि पहुँच चाहिन्थ्यो। सहजै मिडियाले आफ्ना कमीकमजोरी ढाकछोप गर्थे। अहिले यो अवस्था रहेन। यो राम्रो पक्ष हो। 

अहिले ठ्याक्कै भन्दा हाम्रो मिडिया यस्तै प्रश्नहरूको घेराबन्दीमा परेको छ। यसको अर्थ नराम्रो भनेको होइन। प्रश्न मिडियालाई पनि गरिनुपर्छ। प्रश्न मिडियाको मात्रै बिर्ता होइन। 

यतिञ्जेल नागरिक समाजदेखि पाठकसम्मले मिडियाका कमजोरीमाथि प्रश्न गरेका थिएनन्, अब गर्न थालेका छन्। राज्यका अंगहरूमा आम नागरिकले आफैँ प्रत्यक्ष प्रश्न सोध्न सक्ने भएका छन्।

मिडिया लगानीकर्ता, मिडियामा काम गर्ने पत्रकारदेखि व्यवस्थापक, सरोकारवाला निकायले मिडियाले कसरी समाचार लेख्छ, किन लेख्छ, कस्ता कुराहरू हेडलाइन बन्छन् भन्नेतर्फ बुझाउन खोजेको पाइँदैन।

हाम्रोमा मिडिया साक्षरता कम देखिन्छ । परिपक्व हुन आम नागरिकले उठाएको प्रश्नको उत्तर दिन सक्ने मिडियाको संस्थाागत विकास हुनु जरुरी छ।

कमजोरीहरू लुकाएर मिडियाको विकास हुँदैन। छैटौँ तलामा कफीसहितको अफिस भएर मात्रै कर्पाेरेट हुँदैन। बाथरुममै १५/१६ लाख खर्च गर्ने मिडियाले पत्रकारलाई वार्षिक १० हजार तिरेर तालिम दिलाउन नसक्दा  संस्थागत भएको अथवा कर्पाेरेट अफिस भएको मान्न सकिँदैन।

ठ्याक्कै भन्ने हो भने अधिकांश नेपाली मिडिया न त संस्थागत रूपमा विकास भएका छन्, न त कर्पाेरेट नै छन्। 

मिडियाले रूपान्तरण खोज्यो
५९ सालदेखि हो मैले पत्रकारिता सुरू गरेको । रेडियो नेपालको १ सय मेगाहर्जमा क्लासिक एफएमले समय लिएको थियो, त्यहीँ काम गर्थेँ म पनि।

४ वर्ष काम गरेपछि भने टेलिभिजनमा काम सुरू गरेँ कान्तिपुरमार्फत। त्यतिबेला मिडियाले स्टार बनाउँछ भन्ने त थियो नै। त्यति बेलाको तलबले कलेज फी र उस्तै परे चाडपर्वमा घरमा दिनसमेत  पुग्थ्यो। 

रेडियोमा ४ वर्ष काम गरेपछि टेलिभिजनमा काम गरियो।

टेलिभिजनमा प्रस्तोताको हाउभाउले समेत प्रभाव पार्छ। टेलिभिजन प्रस्तोताले देखाउन खोजेको र देखाउन नखोजेको दुवै कुरा देखिएको हुन्छ। जसले अडियन्सलाई सुषुप्त रूपमा प्रभाव पारेको हुन्छ। 

टेलिभिजन अन्य माध्यमको तुलनामा महँगो त भयो नै, सामग्री उत्पादनको प्रक्रिया पनि लामो हुन्छ। पहिले-पहिले टेलिभिजनलाई एलिट वर्गको भन्थे, अहिले पहुँचका हिसाबले टेलिभिजन जताततै छ, तर अहिले टेलिभिजन छ कि छैन भन्नलाई युट्युबमा कन्टेन्ट होलेको पनि हुनुपर्छ। अहिले शिथिल भएको टेलिभिजन नै हो कि जस्तो मलाई लाग्छ।

मैले पत्रकारिता सुरू गर्दा पनि नेपाली मिडियामा राजनीतिक विषयले धेरै प्राथमिकता पाउँथे, राजनीतिक अस्थिरता, सुशासन र सीमान्तकृत समुदायको राज्यसँगको पहुँचका कुरा उठाउँथ्यौँ।

अहिले सामाजिक इस्युहरूले पनि प्राथमिकता पाउन थालेका छन्। अहिले राजनीतिक सिनारियो त बद्लियो, तर सुशासनको पाटो झनै विकराल बनेको छ। सीमान्तकृत समुदायको आवाज अहिले पनि सरकारले सुनेको छैन।

‘शासन’चलाउनेहरू बद्लिए, तर नियति बद्लिएन। अनि मिडियाको कन्टेन्ट यही वरपर हुने नै भयो।

अर्काे कुरा, त्यतिबेला मिडियामा आउनेले आफ्नो करियर देखेर, भविष्य देखेर आउँथे। अहिले नवपुस्ताले मिडियामा आफ्नो भविष्य देखेको छैन। यसबारे भने गम्भीर समीक्षा हुन जरुरी देखिन्छ। मिडियाका माध्यम र संख्या धेरै भयो, स्तरवृद्धि नभएको त होइन, तर रफ्तार निकै कमजोर भयो। 

भाषणमा केन्द्रित हुँदा प्रमुख स्टोरीहरू कमै आउन थालेका छन्। मुख्य कुरा मिडियामाथि प्रश्न पनि उठेका छन्।

हिजो मिडियामा काम गरे स्टार भइन्छ, पैसाको तनाव पनि खासै हुँदैनथ्यो। आज भने मिडियामा म कति वर्ष काम गर्ने? त्यसपछि मैले के गर्ने भन्ने चिन्ता हुन थालेको छ।

पहिले मिडियासँग पाठक पत्र त पठाउँथे तर अहिले जस्तो ह्याण्डिल नै मेन्सन गरेर खुलेआम सोध्ने माध्यम थिएन। त्यसकारण मिडियालाई प्रश्न सोध्न पनि पहुँच चाहिन्थ्यो। सहजै मिडियाले आफ्ना कमीकमजोरी ढाकछोप गर्थे। अहिले यो अवस्था रहेन। यो राम्रो पक्ष हो। 

शक्तिमा पुगेपछि जिम्मेवार भएपछि प्रश्न उठ्छन् नै। बहुलवादमा आधारित हो हाम्रो समाज। समाजमा सत्तापक्ष र प्रतिपक्ष मात्रै छैन। बीचको समुदाय पनि छ। अरूको पारदर्शिताको कुरा उठाउने मिडिया आफैँ कति पारदर्शी छ?

कुनै पनि कन्टेन्ट सिर्जना गर्दा किन गरियो भनेर बुझाउनुपर्ने आवश्यकता अहिले देखिन्छ। एउटै व्यक्तिसँग किन पटक पटक कुराकानी गरियो? यसका कारणहरू पाठकले खोज्नु स्वाभाविक हो तर हामीले दिन सकेका छैनौँ।

देश संघीयतामा गयो, तर अझै पनि हामी मिडिया संघीयकरण हुन सकेका छैनौँ। सिंहदरबार वरपर मात्रै मिडिया घुम्ने होइन नि! केन्द्रीकृत भयो हाम्रो समाचार कक्ष। अझ टेलिभिजनलाई त चक्रपथभित्र मात्रै सीमित रहेको आरोप लाग्छ। केही हदसम्म सत्य पनि हो, केही हदसम्म होइन पनि। 

मिडियाप्रति अनेकथरी प्रश्न उठेका छन्। मिडिया संक्रमणकालमा छ र अहिले मिडियाले रुपान्तरण खोजिरहेको छ। 

लगानीकर्ताको नियत सही, रणनीति छैन 
४६  सालपछि नै मिडियामा धेरै लगानी आयो। वैकल्पिक मिडियाको रूपमा निजी क्षेत्रका मिडियालाई लिन थालियो। राजाले ‘कु’ गर्दा पनि मिडियाले राजाको कदमविरुद्ध निरन्तर लेखिरहे । लोकतन्त्रका लागि अविच्छिन्न रूपमा मिडियाले काम गर्यो पनि। लगानी गर्ने अवसर आयो, धेरै लगानी भयो पनि। तर कति मिडिया संस्थागत भए त? 

मिडियासँगै अन्य संस्थाहरू पनि संस्थागत हुनुपर्छ। उदाहरणका लागि विज्ञापन दिन सक्ने उद्योगहरू, मिडियाका कन्टेन्ट पढिने पुस्तकालयहरू, मिडियाका कन्टेन्टमाथि बहस हुने अनुसन्धान केन्द्रहरू कति बढे त? सब्सक्राइबरहरू हामीले कति बढाउन सक्यौँ त?

पहिले पहिले अनलाइन नहुँदै मासिक पत्रिकाहरू कम्तिमा शहरी क्षेत्रमा पुग्थे, अहिले कति अनलाइन सब्सक्राइब भएका छन्? मिडियामाथिको कन्टेन्टमा स्वस्थ बहस कति भएको छ त?

कार्यालयमा काम गर्ने वातावरण, बस्ने स्थान, महिलामैत्री शौचालय भए/नभएको, वरपर क्याफे छ/छैन, केहीबेर असहज हुँदा फ्रेस हुने रुम छ/छैन। हप्ताको एक दिन बिदा दिन्छ/दिँदैन, तलब महिनापिच्छे छ/छैन। यी सबै हेर्छ अहिलेको पुस्ताले।

मिडियाको संख्या बढ्दै जानु, पठन संस्कृति घट्दै जानु। विश्वविद्यालय बढ्दै जानु, विद्यार्थीको पलायन पनि बढ्दै जानु। कहीँ न कहीँ केही न केही नमिलेको देखिँदैन र? राज्यका हाम्रा अंगहरू संस्थागत हुन नसकेको देखिँदैन र? यसको असर मिडियामा त पर्ने नै भयो।

२० वर्षअघिका पाठकले जे पत्याउँथे अहिलेका पाठकले त्यो पत्याउँदैनन्। त्यति मात्रैले पुग्दैन। पाठकभन्दा पत्रकार स्मार्ट बनाउन कति मिहिनेत भएको छ त? 

हिजो मिडियामा काम गरे स्टार भइन्छ, पैसाको तनाव पनि खासै हुँदैनथ्यो। आज भने मिडियामा म कति वर्ष काम गर्ने? त्यसपछि मैले के गर्ने भन्ने चिन्ता हुन थालेको छ।

मिडिया संस्थागत र स्मार्ट बन्न नसक्दा नवपुस्तालाई तान्न सकेको छैन। पहिले काम भए पुग्थ्यो, अहिले त्यतिले पुग्दैन।

कार्यालयमा काम गर्ने वातावरण, बस्ने स्थान, महिलामैत्री शौचालय भए/नभएको, वरपर क्याफे छ/छैन, केहीबेर असहज हुँदा फ्रेस हुने रुम छ/छैन। हप्ताको एक दिन बिदा दिन्छ/दिँदैन, तलब महिनापिच्छे छ/छैन। यी सबै हेर्छ अहिलेको पुस्ताले।

हेर्दा स-साना कुरा हुन् यी। तर महत्वपूर्ण कुरा हुन्। यस्तै कुरा नहुँदा त हो मिडियाले भ्याकेन्सी खुलाए भने ५० प्रतिशत पनि आवेदन पर्दैन।

पहिले-पहिले रेडियो र टेलिभिजनमा पत्रकारिताको लागि तालिम हुन्थ्यो। अहिले ती निजी क्षेत्रका संस्था पनि छैनन्। विश्वविद्यालयमा कसरी पढाइ हुन्छ मैले भनिराख्नै पर्दैन।

पत्रकारलाई अपग्रेड गर्न बेला-बेलामा तालिमको आवश्यकता पर्छ। तर यो पर्याप्त छैन । सीमित संस्थाले त दिएका छन्। तर उनीहरूको पारदर्शितामा पनि प्रश्न उठ्ने ठाउँ छ।  

लगानीकर्तासँग मेरो उस्तो संगत त होइन, तर छोटो समय नजिकै रहेर काम गरेको आधारमा भन्न सकिन्छ- ‘लगानीकर्ताको मिडिया संस्थागत गर्नुपर्छ। नियत ठीक भए पनि रणनीति छैन। रणनीतिक ढंगमा उहाँहरूले काम गर्न सकेको देखिँदैन।’

पत्रिकामा पेज भर्न, टेलिभिजनमा पनि बुलेटिन भर्न, अनलाइनमा अपडेट गरिरहनपर्ने ‘बाध्यता’ आइलागेपछि कसरी हुन्छ र खोज पत्रकारिता?

‘ह्युमन रिर्साेस एक्सपर्ट’ पनि आफैँलाई सम्झिने, कन्टेन्टको एक्सपर्ट पनि आफैँलाई सम्झिने देखिएको छ। उस्तै परे जिंगल बनाउनेदेखि कार्यक्रमको नाम राख्ने, अतिथि कसलाई बनाउने भन्नेमा समेत हस्तक्षेप गरिदिने देखिन्छ।

धेरैजसो लगानीकर्ता दिग्भ्रमित छन्। संस्थागत बनाउन रणनीतिक हिसाबमा काम गर्नुपर्नेमा आफूले गर्ने कामबाहेक सबै गर्न खोज्ने अनि मिडिया संस्थागत हुन्छ र?

टक शो समावेशी भएन र अलि बढी ज्ञानगुणका कुराभन्दा सतही भयो भनेर प्रश्न उठिरहन्छन्। सबै त भन्दिनँ प्रायः टक शोमा प्रश्न गर्नुपर्ने देखिन्छ। हाम्रा टक शोहरू समावेशी नहुनुमा हामी लोकतान्त्रिक देशमा त छौँ तर अझै पनि लोकतान्त्रिक विचारधारा अँगाल्न सकेका छैनौँ।

एउटा टेलिभिजनमा एक जना गेष्टले प्रश्नकर्तालाई भन्दै हुनुहुनथ्यो- ‘तपाईंसँग कुराकानी गर्नुपर्छ भनेर मैले एउटा लेख पढेर आएको।’

एउटा लेख? खै तयारी? न त अन्तर्वार्ता दिनेको तयारी छ, न त लिनेको? त्यसैले त अधिकांश टक शोहरू सतही भएका छन्।

पत्रकारमा सशक्तीकरण भएन
खोज पत्रकारिताको रफ्तार बढ्न सकेको छैन। पत्रकारको चाहना नभएको होइन खोजपत्रकारिता गर्न। तर स्रोत र साधनको अभावले काम हुन सकेको छैन। मिडिया हाउसको रणनीति नै नभएपछि खोज पत्रकारिता गर्न गाह्रो हुन्छ।

खोज पत्रकारिता गर्न अध्ययन अनुसन्धान, समय, स्थलगत दुवै जानुपर्ने हुन्छ। यसका लागि मिडिया हाउसको लगानी छैन। जति आएका छन् त्यो सानो लगानीकर्ताहरूले, केही दाताका सहयोगमा आएका छन्। पहिलेका तुलानामा धेरै त आएको हो तर सन्तुष्ट हुनुपर्ने ठाउँ छैन। अन्य माध्यममा हुनेजति खोजी रिपोर्टिङ टेलिजिनमा भएको छैन। लगानी नै छैन् आओस् पनि कसरी ? 

टेलिभिजनको कन्टेन्टमा लगानी कम छ। मिडिया हाउसमा ड्रोन भेट्न मुश्किल पर्छ। ड्रोन भए चलाउने मान्छे छैन। मान्छे भए ड्रोन छैन। त्यसैले त हाम्रा टेलिभिजनका कन्टेन्ट युट्युबजतिका पनि भएनन्।

पत्रिकामा पेज भर्न, टेलिभिजनमा पनि बुलेटिन भर्न, अनलाइनमा अपडेट गरिरहनपर्ने ‘बाध्यता’ आइलागेपछि कसरी हुन्छ र खोज पत्रकारिता?

ग्रुप पत्रकारिता मात्रै नभएर ‘वान मेन जर्नालिजम’को कन्सेप्ट पनि अनुसरण गरौँ न भनेर एउटा मिडिया हाउसमा काम गर्दा आन्तरिक समूहबाटै तालिम आयोजना गरियो। सबैलाई असाइन पनि तोकियो, तर एक जनाबाहेक कसैले त्यो असाइनमेन्ट नै गरेनन्।

पत्रकारहरूमा सिक्ने जुन हुटहुटी हुनुपर्ने हो त्यो देखिएन। यसलाई पत्रकार अल्छी भए भनेर मात्र बुझ्नुहुँदैन। पत्रकारको सशक्तीकरण नभएको चाहिँ हो।

कसरी त ? 
पत्रकारको हातमा कति अधिकार छ?, वित्तीय स्वतन्त्रता कति छ?, पत्रकारितामा भविष्य कतिको देख्नुहुन्छ?, निर्णायक तहमा आवाज कतिको सुनिन्छ? यस्ता कुराले प्रभाव पर्छ।

पत्रकारिता गरेको १०औं वर्ष भयो, माथि मैले भनेको कुनै पनि अधिकार उसले प्रयोग गर्न पाउँदैन भने काम पो कसरी गरोस्? पत्रकारलाई अल्छी भनेर मात्रै हुँदैन। यस्तै कुरा ले न हो सशक्तीकरण हुने। न त पत्रकारको सशक्तीकरण, न त नयाँ जनशक्तिको प्रवेश।

टेलिभिजनहरूमा पनि प्रमुख समस्या भनेका जनशक्ति र उनीहरूको सशक्तीकरण नै हो।

टेलिभिजनको कन्टेन्टमा लगानी कम छ। मिडिया हाउसमा ड्रोन भेट्न मुश्किल पर्छ। ड्रोन भए चलाउने मान्छे छैन। मान्छे भए ड्रोन छैन। त्यसैले त हाम्रा टेलिभिजनका कन्टेन्ट युट्युबजतिका पनि भएनन्।

विदेशमा राम्रो युनिर्भसिटी पढेर आएका यहीँ पनि युनिर्भसिटी पढेकाहरूको रोजाइ पत्रकारिताभन्दा विकासे संस्थामा कम्युनिकेसन म्यानेजर भएर काम गर्ने हुन्छ। यस्तो हुनुमा काम गर्ने वातावरण, पे स्किल, अफिस स्पेस आदिले फरक पारेको हो। जसका लागि मिडिया रुपान्तरण हुन जरुरी हुन्छ।

(क्लासिक एफएम, कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजनमा काम गरेका श्रेष्ठ ग्यालेक्सी फोरके टेलिभिजनमा पछिल्लो समय प्रधानसम्पादकको रूपमा कार्यरत थिए। उनैसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानी)

चौथो अंगका पुराना श्रृंखला

१९ बैशाख, २०८०, १६:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।