फाइनलमा दीपेन्द्रको ठाउँमा आफूलाई खेलाउने मोन्टीको निर्णयलाई सही साबित गरे गुलशनले

फाइनलमा दीपेन्द्रको ठाउँमा आफूलाई खेलाउने मोन्टीको निर्णयलाई सही साबित गरे गुलशनले

काठमाडौं : फाइनल अघिका खेलमा नेपाली टिमका प्रशिक्षक मोन्टी देशाईले बलिङ अलराउन्डर करण केसी र गुलशन झालाई पालैपालो एक एक खेलमा खेलाउने गरेका थिए।

यूएईसँगको फाइनल खेलमा भने ब्याटिङमा खराब फर्ममा रहेका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई बेन्चमै राखेर मोन्टीले  करणसँगै गुलशनलाई पनि प्लेइङ-११ मा राखे।

बलिङमा एक विकेट मात्रै लिए पनि गुलशनको जादु भने ब्याटिङमा देखियो।

११८ रनको सहज विजय लक्ष्य पछ्छाएको नेपालले सुरुवात निकै खराब गरेको थियो। जहाँ मात्र २२ रन जोड्दा नेपालले सुरुवाती ३ विकेट गुमाइसकेको थियो। यो समय नेपालको खेल फसिसेकेको थियो।

तर प्रायः मध्यक्रममा ब्याटिङका लागि आउने गुलशन झालाई प्रशिक्षकले एक विकेट खसेपछि नै मैदानमा पठाए। सायद उनको ब्याटिङ खुबीलाई बुझेर होला।

वर्षाको कारण ब्याटिङ गर्न निकै गाह्रो भएको पीचमा अन्य ब्याटर लगातार आउट भइरहँदा उनले लामा लामा छक्का हानिरहेक थिए।

उनले ८४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा अविजित ६७ रन जोडे। लामा सटसँगै सम्हालिएर ब्याटिङ गर्दै गुलशनले नेपालको इनिङ मात्र जोगाएनन्, जितसम्म पुराए।

उनले ७५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका थिए। उनले नै फाइनलको उत्कृष्ट खेलाडीको उपाधि जिते।

धरापमा परेको नेपालको इनिङलाई बचाउन गुलशनलाई भीम सार्कीले राम्रो साथ दिए। यी दुईले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गर्दै नेपाललाई उपाधि दिलाए।

भीमले ७२ बलमा ४ चौकोको मद्दतमा ३६ रनको योगदान दिएका थिए।

वैशाख १९, २०८० मंगलबार १२:५८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।