प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा, अब भारत र पाकिस्तानसँग खेल्ने
काठमाडौं : यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ।
यो जितसँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भयो। एसिया कपमा छनोट भएसँगै नेपालको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पनि पुरा हुने भएको छ।
अब एसिया कपको समूह चरणमा नेपालले भारत र पाकिस्तानसँग भिडन्त गर्नेछ।
गुलशन झा र भीम सार्कीले सानदार ब्याटिङ गर्दा नेपालले ११८ रनको लक्ष्य ३३.१ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्यो।
खेलमा एक समय फसिसेकेको नेपालको इनिङलाई सम्हालिएर ब्याटिङ गर्दै गुलशन झाले बचाए। वर्षाको कारण ब्याटिङ गर्न निकै गाह्रो भएको पीचमा उनले ८४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा अविजित ६७ रन जोडे।
उनले ७५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा अर्धशतक प्रहार गरेका थिए।
११८ रनको सहज विजय लक्ष्य पछ्छाएको नेपालले सुरुवात भने खराब गरेको थियो। जहाँ मात्र २२ रन जोड्दा नेपालले सुरुवाती ३ विकेट गुमाइसकेको छ।
नेपालका दुवै ओपनर सस्तैमा आउट भए। कुशल भुर्तेल मात्र १ रनमा एलबीडब्लू धरापमा परे। आसीफ शेख पनि मात्र ८ रन जोड्दा एलबीडब्लू आउट भए।
यसपछि आएका कप्तान रोहित पौडेल पनि मात्र १ रनमा बोल्ड भए। तर यसपछि गुल्सन र भीम सार्कीले नेपालको इनिङलाई जोगाएका थिए। यी दुईले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरेका थिए।
भीमले ७२ बलमा ४ चौकोको मद्दतमा ३६ रनको योगदान दिए।
नेपालको धारिलो बलिङ
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपालको धारिलो बलिङ सामु ३३.१ ओभरमा मात्र ११७ रनमै अलआउट भएको थियो।
सोमबार वर्षाको कारण रोकिएको फाइनल खेल आज हिजोकै अवस्थामा सुरु भएको थियो। यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा वर्षाका कारण हिजो खेल रोकिएको थियो।
आज १०६-९ बाट नै ब्याटिङ थाल्दा यूएईले थप ११ रन जोडेको थियो।
यूएईका लागि आसिफ खानबाहेक अन्य कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन्। आसिफले ५७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडेका थिए।
नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी र गुल्सन झाले एकरएक विकेट लिए। ललितले ७.१ ओभरमा १४ रन दिएर ४ विकेट लिएका हुन्।
सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।
यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।
अर्का ओपनर आर्यन लाक्रालाई १३ रनमा करणले नै आउट गर्दा रमिज सहेजादलाई ललित राजवंशीले मात्र १ रनमा फिर्ता पठाए।
रोहन मुस्तफा पनि मात्र २ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका थिए। बसिल अहमद मात्र १० रनमा गुलशनको बलमा बोल्ड हुँदा यूएईको ९० रनमा ६ विकेट खसेको थियो।
यसपछि राम्रो पारी खेलेका आसिफ खानसँगै जाहुर खानलाई ललितले शून्य रनमा आउट गरे भने आयान खान ५ रनमा सन्दीपको शिकार बने।
ललितले २८ औं ओभरमा लगातार दुई बलमा २ विकेट लिएर ह्याट्रिक बल फाल्नु अगाडि पानीका कारण खेल रोकिएको थियो।
एसिया कप यात्रा
यो उपाधिसँगै एसियाली क्रिकेटका महारथी राष्ट्रहरूले खेल्ने एसिया कपमा नेपालले पहिलो पटक खेल्ने भएको हो।
त्यसमाथि एशोसिएट राष्ट्र नेपालले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि सानो उपलब्धि हुने छैन।
एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।
यस बाहेक फाइनलमा पुगेसँगै नेपाल यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट भइसकेको छ।इमर्जिङ टिम एसिया कपमा एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।
एसीसी प्रिमियर कपमा अपराजित
नेपाल समूह चरणमा अपराजित रहँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चार खेल मध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।
यसपछि सेमिफाइनल खेलमा नेपालले सानदार ब्याटिङ गरेको थियो। तर वर्षाका कारण खेल रद्द भएपछि समूह चरणमा विजेता बनेको आधारमा नेपाल फाइनलमा पुगेको हो।
वैशाख १९, २०८० मंगलबार ११:५१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।