१०६ रन ९ विकेटबाटै यूएईले आज खेल थाल्ने, सहज जितसँगै एसिया कपमा पुग्ने नेपालको लक्ष्य
काठमाडौं : हिजो (सोमबार) वर्षाको कारण रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ।
खेल हिजो जुन अवस्थामा रोकिएको थियो आज त्यहीबाट सुरु हुनेछ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।
अब आज १०६-९ बाट नै यूएईले ब्याटिङ थाल्नेछ। यूएईको एक विकेट खसाले लगत्तै नेपालले ब्याटिङ गर्नेछ।
यस खेलमा यूएईलाई हराउन सके नेपालले पहिलो पटक एसिया कप खेल्नेछ। जहाँ समूह चरणमा नेपालको भेट भारत र पाकिस्तानसँग हुनेछ।
मौसम विभागका अनुसार मंगलबार पनि काठमाडौंमा वर्षाको सम्भावना भने छ। नेपालले सामान्य लक्ष्य पाउने देखिएकाले खेल सम्पन्न हुनसक्ने अनुमान गरिएको छ।
तर हिजोको पानीले टियु मैदान भिजेकाले भने समयमा खेल सुरु नहुन पनि सक्छ।
यदि आज पनि वर्षाको कारण खेलमा नतिजा ननिस्केमा २ पटकसम्म सुपर ओभर खेलाइने नियम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
वर्षाको कारण सुपर ओभर पनि गर्न सकिएन भने वरियताको आधारमा विजेता घोषणा हुनेछ। हाल एकदिवसीय वरियतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन्।
यदि खेल पुरै रद्द भएमा नेपाल यो प्रतियोगिताको उपाधि विजेता बन्दै एसिया कपमा पुग्नेछ भने पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
हिजो टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार प्रदर्शन गर्दै यूएईका ब्याटरलाई पुरै दबाबमा राखेको थियो।
यूएईका लागि आसिफ खानबाहेक अन्य कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन्। आसिफले ५७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडेका थिए।
नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिए।
सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले यूएईका ओपनर तथा कप्तान मोहमद वासिमलाई मात्र ११ रनमा आउट गरे।
यसपछि करण केसीले अर्का खतरनाक ब्याटर वृत्य अरविन्दलाई पनि मात्र ८ रनमा पेभोलियनको बाटो देखाए।
अर्का ओपनर आर्यन लाक्रालाई १३ रनमा करणले नै आउट गर्दा रमिज सहेजादलाई ललित राजवंशीले मात्र १ रनमा फिर्ता पठाए।
रोहन मुस्तफा पनि मात्र २ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका थिए। बसिल अहमद मात्र १० रनमा गुलशनको बलमा बोल्ड हुँदा यूएईको ९० रनमा ६ विकेट खसेको थियो।
यसपछि राम्रो पारी खेलेका आसिफ खानसँगै जाहुर खानलाई ललितले शून्य रनमा आउट गरे भने आयान खान ५ रनमा सन्दीपको शिकार बने।
ललितले २८ औं ओभरमा लगातार दुई बलमा २ विकेट लिएर ह्याट्रिक बल फाल्नु अगाडि पानीका कारण खेल रोकिएको थियो।
वैशाख १९, २०८० मंगलबार ०७:३३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।