एसीसी प्रिमियर कपको फाइनल खेल स्थगित, भोलि ९ बजेबाट युएईले थाल्ने

एसीसी प्रिमियर कपको फाइनल खेल स्थगित, भोलि ९ बजेबाट युएईले थाल्ने

काठमाडौं : एसीसी प्रिमियर कपको आज भनिएको फाइनल खेल स्थगित भएको छ।

लगातार वर्षाको कारण खेल स्थगित भएपछि दुवै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन्।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षा भएको थियो।

लगातार वर्षा भएपछि आज खेल हुन नभएको हो। युएईले अब मंगलबार विहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ। यद्यपि मंगलबार पनि वर्षाको सम्भावना छ।

मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नुपर्ने हुन्छ। वर्षाको कारण सुपर ओभर पनि हुन नसकेमा नेपाल एसिया कपमा पुग्नेछ।

नेपाल र युएईको बीचमा एसिया कपमा पुग्न प्रतिस्पर्धा भइरहँदा उता पाकिस्तानमा हुने भनिएको एसिया कप भने अन्योलमा परेको छ। पाकिस्तान र भारतको आ–आफ्नै अडानका कारण खेल नहुने सम्भावना बढेको हो।

वैशाख १८, २०८० सोमबार १५:३८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।