एसिया कप रद्द हुने सम्भावना

एसिया कप रद्द हुने सम्भावना
फाइल तस्बिर

काठमाडौं : आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कप रद्द हुने सम्भावना बढेको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आ–आफ्नो अडानबाट पछि नहटेपछि एसिया कप रद्द हुने सम्भावना बढेको हो।

पाकिस्तानले आयोजना गर्न लागेको एसिया कपमा भारतीय टिमले उसका खेलहरू पाकिस्तान बाहिर खेल्ने प्रस्ताव पाकिस्तानले गरेको थियो।

पाकिस्तानले गरेको प्रस्तावमा सुरुवातमा भारतको बोर्ड सकारात्मक देखिए पनि अहिले नकारात्मक देखिएको छ।

उसले प्रतियोगिता अन्य देशमा सार्नुपर्ने बताइरहँदा पीसीबीले यसलाई पूर्ण रूपमा अस्वीकार गरेको क्रिकक्र्याकरमा समाचार छ।

उसो त श्रीलंकाले पनि प्रतियोगिता आयोजना गर्न चाहेको छ। उता संयुक्त अरब इमिरेट्स (युएई) पनि प्रतियोगिता आयोजना गर्न बाटो कुरेर बसेको छ।

तर, पीसीबीले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्नुबाहेक अन्य विकल्प अस्वीकार गरेको हो। उसो त बीसीसीआईले पनि आफ्ना खेलाडीलाई पाकिस्तानका सुरक्षा खतरा रहेको बताउँदै जान चाहिरहेको छैन।

उसो त दुई साताअघि जय शाहले एसिया कप आयोजना हुने स्थानबारे अन्तिम निर्णयमा पुग्न काउन्सिलले सम्बन्धित देशबाट सुझावको पर्खाइमा रहेको बताएका थिए। शाह एसियन क्रिकेट काउन्सिलका अध्यक्ष हुन् भने बीसीसीआईका सचिवसमेत हुन्।

‘हामी एशिया कपको लागि स्थान फाइनल गर्न र भारत–पाकिस्तान खेलको बारेमा स्पष्टताका लागि अन्य राष्ट्रहरूको प्रतिक्रियाको पर्खाइमा छौं’, क्रिकेट पाकिस्तानले शाहलाई उद्धृत गर्दै भनेको छ।

अर्कोतर्फ, बीसीसीआई पनि एसिया कप सम्भावित रद्द हुनेमा तयार नै छ। बोर्डले एसिया कप नभएमा उक्त समयमा नयाँ पाँच राष्ट्रको प्रतियोगिताको योजना बनाएको क्रिकक्र्याकरले लेखेको छ।

पीसीबीले प्रस्तुत गरेको टूर्नामेंटको हाइब्रिड मोडलको विचार दुवै बोर्डबीचको विवादको समाधान हो। तर, अब त्यस्तो अवस्था देखिँदैन।

बीसीसीआईका सचिव जय शाहले यो मोडललाई पहिलो पटक प्रस्तुत गर्दा चासो देखाए पनि अहिले भने यसको विरोध गरिरहेका छन्।

एसियाको कपको समूह ए मा भारत र पाकिस्तान छ भने नेपालमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलले सोही समूहमा स्थान बनाउनेछ। भारत र पाकिस्तानको समूहमा स्थान बनाउनका लागि अहिले नेपाल र युएई भिडिरहेका छन्।

वैशाख १८, २०८० सोमबार १४:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।