यूएईलाई हराए नेपालले भारत र पाकिस्तानसँग खेल्ने, तर उपाधिका लागि वर्षा निर्णायक

यूएईलाई हराए नेपालले भारत र पाकिस्तानसँग खेल्ने, तर उपाधिका लागि वर्षा निर्णायक
तस्बिर : क्यान

काठमाडौं : एसीसी प्रिमियर कपको उपाधिका लागि फाइनलमा नेपाल र यूएईबीच भिडन्त भइरहेको। यस खेलमा यूएईलाई हराउन सके नेपालले पहिलो पटक एसिया कप खेल्नेछ।

नेपाल पहिलो पटक एसिया कपमा छनोट हुन तथा भारत र पाकिस्तानसँग खेल्नका लागि मात्र एक जित टाढा छ। 

एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

तर प्रतियोगिता सानदार प्रदर्शन गरेर उच्च लयमा रहेको नेपाललाई आजको खेलमा चिन्ता भने वर्षाको छ।

मौसम पूर्वानुमान अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने सम्भावना रहेको छ। त्यसैले काठमाडौंको पानी नै फाइनल खेलको निर्णायक पक्ष बन्ने देखिन्छ।

यो हप्ता भर नै काठमाडौंमा वर्षा हुने पूर्वानुमान थियो। त्यसैले सेमिफाइनल जस्तै वर्षाको कारण फाइनल खेल पनि प्रभावित हुन सक्ने भएकाले फाइनलका लागि एक रिजर्भ दिन भने राखिएको छ।

सोमबार वर्षा बाधक बने फाइनल खेल मंगलबार हुनेछ। तर दुवै दिनमा खेल सक्न सम्भव नभए २ पटकसम्म सुपर ओभर खेलाइने नियम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

तर वर्षाको कारण सुपर ओभर पनि गर्न सकिएन भने वरियताको आधारमा विजेता घोषणा हुनेछ। हाल एकदिवसीय वरियतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन्।

यदि खेल पुरै रद्द भएमा नेपाल यो प्रतियोगिताको उपाधि विजेता बन्दै एसिया कपमा पुग्नेछ साथै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

यदि यो उपाधि जितेमा आईसीसीको एशोसिएट राष्ट्रले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि सानो उपलब्धि हुने छैन।

एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।

कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।

यस बाहेक फाइनलमा पुगेसँगै नेपाल यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट भइसकेको छ।

इमर्जिङ टिम एसिया कपमा एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई सुरुमै उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको थियो।

नेपाल समूह चरणमा अपराजित रहँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चार खेल मध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।

यसपछि सेमिफाइनल खेलमा नेपालले सानदार ब्याटिङ गरेको थियो। तर वर्षाका कारण खेल रद्द भएपछि समूह चरणमा विजेता बनेको आधारमा नेपाल फाइनलमा पुगेको हो।

यूएईले भने सेमिफाइनलमा ओमानलाई डकअर्थ लुइस नियमको आधार दुई रनले हराउँदै नेपालसँगको फाइनल भिडन्त निश्चित गरेको हो। समूह चरणमा भने यूएई हङकङसँग एक खेलमा पराजित भएको थियो।

नेपाल र यूएईबीच हालसम्म १३ पटक एकदिवसीय खेल भएकोमा नेपालले ७ खेल जितेको छ। ६ खेलमा भने यूएईले जित निकालेको तथ्यांक छ।

वैशाख १८, २०८० सोमबार ०७:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।