निरा हत्या प्रकरण : भारत भाग्न तयार भएका आरोपी बसपार्कमा फेला परे, क्यासिनोले लगाएको ऋण तिर्न हत्या!
काठमाडौं : दुई हप्ताअघि झापाबाट राजधानी छिरेका विनोद विश्वकर्मा एक हप्ता साथीकै डेरामा बसे भक्तपुरमा। वैशाख ७ गते विहानै चाबहिलको केएल टावर आएका उनी केहीबेर त्यतै भुले।
दुई बज्नै लाग्दा उनी सरस्वतीनगरमा रहेको ‘निरु किचेन पसल’ पुगे। कप र केही घरायसी सामान हेरे। पसले निरा आचार्यले सामान प्याक गरिदिइन् पनि। खल्ती छामछुम गरेका विश्वकर्माले एटीएमबाट पैसा झिक्ने भन्दै बाहिरिए।
पौने तीन बजे पुन त्यही पसलमा पुगे। निरालाई पछाडिबाट हिर्काए। निराले प्रतिकार गर्न खोज्दा मुख थुनिदिए र भुईंमा लडाइदिए। उनको सिक्री लुटे। ११/१२ सय पैसासमेत झिके। निरालाई थिलथिलो बनाइसकेका विश्वकर्माले निराकै पसलमा रहेको चक्कुले अगाडि पछाडि गरेर १८ पटक घोपे।
जसै उनी मरिन् भन्ने लाग्यो तब विश्वकर्मा त्यहाँबाट सफा ट्याम्पो चढेर भागे। चाबहिल चोकको एसी कम्पलेक्समा झरेर मोटरसाइकल चढेर जडिबुटि गए। जडिबुटीबाट उनले अर्काे मोटरसाइकल चढेर लोकन्थली पुगे। लोकन्थलीमा फ्रुटी किनेर खाई गाउँकै आफन्त पर्नेको कोठामा बसे।
प्रहरीको दाबी पत्याउने हो भने, उनी घटना भएको एक हप्ता काठमाडौं छाडेर निस्केनन्। वैशाख १२ गते तारकेश्वरको हिलेडोलस्थित पाथीभरा सुनचाँदी पसलमा निराको ९८ लालको सुनको सिक्री ५५ हजारमा बिक्री गरी १३ गते मात्रै झापा गए।
केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख किरण बज्राचार्य भन्छिन्, ‘घटनालगत्तै काठमाडौं छाड्दा नाका सिल हुनसक्ने डरले नगएको विश्वकर्माले प्रारम्भिक बयानमा खुलाएका छन्। निरालाई हत्या गरेको विश्वकर्माले स्वीकारेका छन्।’
बाउन्सरको काम, ऋण लागेपछि छाडेका थिए घर
प्रहरीका अनुसार विश्वकर्मा झापामै छँदासमेत एक क्यासिनोमा काम गर्थे। उनको श्रीमतीसँग राम्रो सम्बन्ध थिएन। प्रेमिका समेत बनाएका उनले क्यासिनोमा जुवा खेल्दा ३ लाख रूपैयाँ ऋण लाग्यो। परिवारले ऋण नतिरेसम्म घर नर्फकन भने।
विश्वकर्माले पछि ठमेलको भाइब्रेन्ट क्लबमा समेत बाउन्सरकै रूपमा काम गरे। त्यतिमात्रै होइन, कपनकै सरस्वती नगरमा उनको सानीमा पनि बस्ने भएकाले उनी त्यो क्षेत्रमा सहजै आउजाउ गर्थे।
प्रहरीको प्रारम्भिक अनुसन्धानले निराको हत्या गर्नुअघि उनीसँग मोबाइल समेत नभएको देखियो। सुन बेचेपछि उनले १० हजारमा मोबाइल किने।
निरा हत्याका समाचार दिनकै आएपछि उनी पक्राउ पर्ने डरले भारत जाने तयारीमा थिए। उनले साथीहरूमार्फत पञ्जाबमा कामसमेत खोजिसकेका थिए। झापा धुलाबारी घर भएका उनी शनिबार बिर्तामोडको इलाम बसपार्कबाट पक्राउ परे।
सुन लुट्नकै लागि मात्र भयो त हत्या?
केन्द्रीय अनुसन्धान ब्यूरोमा निराका माइती पक्षका केही आफ्न्त समेत आएका थिए। उनीहरूका अनुसार केही महिनादेखि निरा र उनको श्रीमान्को खटपट भइरहेको थियो।
श्रीमान्ले घरेलु हिंसा गरेको पटक-पटक भनिरहन्थिन् पनि। घरेलु हिंसालाई पुष्टि हुने आधार समेत थियो। उनको माइतीपक्षले विनोद विश्वकर्माले आफ्नै सुरले नभइ कोही कसैले हत्या गर्न लगाएको हो की भन्ने शंका गरिरहेका थिए।
ब्यूरोकी प्रमुख बज्राचार्य पक्राउ परेका विश्वकर्माले हत्या गरेको स्वीकारेकाले छुरी हान्ने उनी भए पनि अन्य पाटाहरू भने खुल्नै बाँकी रहेको बताइन्।
‘हत्या गरेको पक्राउ परेका विश्वकर्माले स्वीकारेका छन्,’ उनले भनिन्, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तारै अन्य पाटाहरू समेत खुल्दै आउँछन्।’
वैशाख १७, २०८० आइतबार २०:१५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।