कुवेतका कप्तानले भने- ‘हिजो दर्शकको भीड देखेर हाम्रा खेलाडी दवावमा आए, म पनि आएँ’
काठमाडौं : कुवेत क्रिकेट टिमका कप्तान मोमहम्मद अस्लमले नेपालविरुद्धको खेलमा दर्शकको भीड देखेर आफूहरू दवावमा आएको बताएका छन्।
आइतबार एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको कुवेतविरुद्धको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दर्शकका कारण आफूहरू दवावमा आएको बताएका हुन्।
नेपालविरुद्ध आफूहरूले पहिलो खेल खेलेको र यसलाई अनुभवको रुपमा लिँदै आगामी दिनमा अझ राम्रो गर्ने उनले बताए।
‘हाम्रा लागि हिजोको खेल नेपालविरुद्धको पहिलो खेल थियो। एकदमै धेरै दर्शक देखेर हाम्रा खेलाडीहरू दवावमा आए, म पनि दवावमा आएँ,’ उनले भने, ‘सबैकुरा अनुभवमा निर्भर हुन्छ। त्यसैले हामीले यसलाई अनुभवको रूपमा लिएका छौं। अर्कोपटक नेपालसँग खेल भएको खण्डमा हामीले राम्रो गर्नेछौं।’
नेपाल र युएईसँग खेलिसकेका कप्तान अस्लमले दुवै टोली राम्रो भएको बताउँदै व्यक्तिगत रूपमा आफूलाई नेपाली टोली राम्रो लागेको बताए।
दुई टिममध्ये कसले जित्ला भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो एकदमै गाह्रो प्रश्न हो। गत महिना पनि नेपाल र युएईबीच खेल भएको थियो। दुवै टोली राम्रा छन्, तर व्यक्तिगत रूपमा मलाई नेपाल मनपर्छ।’
वर्षाका कारण आजको खेल प्रभावित हुँदा कुवेतले तेस्रो स्थान हात पार्नबाट चुक्यो। ओमान र कुवेतको समान ६ अंक भए पनि रनरेटका आधारमा ओमानले तेस्रो स्थानमा कायम रह्यो। ओमानले अब आगामी जुलाइमा हुने एसीसी इमर्जिङ कपमा स्थान बनाएको छ।
वैशाख १७, २०८० आइतबार १९:३९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।