कुवेतविरुद्धको खेल रद्द भएसँगै एसीसी प्रिमियर कपमा ओमान तेस्रो
काठमाडौं : कुवेतविरुद्धको खेल रद्द भएसँगै एसीसी प्रिमियर कपमा ओमान तेस्रो भएको छ।
वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि अंक तालिकामा भएको रनरेटका आधारमा ओमान तेस्रो भएर आगामी जुलाइमा हुने इमर्जिङ टिम्स एसिया कपमा पुगेको एसीसीका कमेन्टेटरले जानकारी दिए।
जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो।
त्यसपछि लगातार वर्षा भएपछि पुन खेल हुन सकेन। २० ओभरको खेल गर्न लागिएको भए पनि समय पर्याप्त भएन। त्यसपछि सुपर ओभर गर्न खोजिए पनि मैदान सुक्न अझै एक घण्टा लाग्ने भएपछि सुपर ओभर पनि हुन सकेन।
ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो।
कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए। अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए।
ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए। यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन्।
ओमानका स्पिनर जय ओडेराले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिएका थिए। बिलाल खानले ७ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए। आयन खान, जिशान मकसुद र जतिन्दर सिंहले समान एक विकेट लिएका थिए।
फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेका छन्। सेमिफाइनल खेलमा ओमान युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले पराजित हुँदै बाहिरिएको थियो।
कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो। सोमबार नेपाल र युएईबीच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ। वर्षाको कारण खेल हुन नसके मंगलबार हुनेछ।
वैशाख १७, २०८० आइतबार १७:३७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।