निरा हत्या प्रकरण : सरस्वतीनगरमा हत्या, लुटेको सुन बालाजु लगेर ५५ हजारमा बिक्री

निरा हत्या प्रकरण : सरस्वतीनगरमा हत्या, लुटेको सुन बालाजु लगेर ५५ हजारमा बिक्री

काठमाडौं : चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले दाबी गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार पत्रकार सम्मेलन गर्दै एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको जानकारी दिए।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विकलाई शनिबार पक्राउ गरेर आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११/१२ सय रूपैयाँ लुटपाट गरेको उनले बताए।

प्रहरीका अनुसार विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रूपैयाँमा बिक्री गरेको छ।

‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउनसक्छ,’ एसएसपी आचार्यले भने, ‘अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ।’

निराको परिवारसँग यसअघि विकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ। विकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए।

७ वैशाखमा आफ्नै पसलमा उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनको पेट, छाती र घाँटीमा धेरैपटक धारिलो वस्तु प्रहार भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

१७ बैशाख, २०८०, १५:४७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।