भारत‍ र पाकिस्तानसँग खेल्न नेपाल एक जित टाढा, फाइनलमा वर्षा बाधक!

भारत‍ र पाकिस्तानसँग खेल्न नेपाल एक जित टाढा, फाइनलमा वर्षा बाधक!

काठमाडौं : नेपाल पहिलो पटक एसिया कपमा छनोट हुन तथा भारत र पाकिस्तानसँग खेल्नका लागि मात्र एक जित टाढा छ। 

सोमबार हुने एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउन सके नेपालले पहिलो पटक एसिया कप खेल्नेछ।

एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

प्रतियोगितामा अपराजित रहेको नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै यो उपाधि उचाल्ने तयारीमा छ।

तर यो हप्ता भर नै काठमाडौंमा वर्षा हुने पूर्वानुमान छ। त्यसैले सेमिफाइनल जस्तै वर्षाको कारण फाइनल खेल पनि प्रभावित हुन सक्ने देखिएको छ। 

यसैलाई मध्यनजर गर्दै खेल रोकिन सक्ने भएकाले फाइनलका लागि एक रिजर्भ दिन राखिएको छ।

सोमबार वर्षा बाधक बने खेल मंगलबार हुनेछ। तर दुवै दिनमा खेल सक्न सम्भव नभए २ पटकसम्म सुपर ओभर खेलाइने नियम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

तर वर्षाको कारण सुपर ओभर पनि गर्न सकिएन भने वरियताको आधारमा विजेता घोषणा हुनेछ। हाल एकदिवसीय वरियतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन्।

यदि खेल पुरै रद्द भएमा नेपाल यो प्रतियोगिताको उपाधि विजेता बन्दै एसिया कपमा पुग्नेछ साथै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

यदि यो उपाधि जितेमा आईसीसीको एशोसिएट राष्ट्रले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि सानो उपलब्धि हुने छैन।

एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।

कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।

यस बाहेक फाइनलमा पुगेसँगै नेपाल यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट भइसकेको छ।

इमर्जिङ टिम एसिया कपमा एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई सुरुमै उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको थियो।

नेपाल समूह चरणमा अपराजित रहँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चार खेल मध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।

यसपछि सेमिफाइनल खेलमा नेपालले सानदार ब्याटिङ गरेको थियो। तर वर्षाका कारण खेल रद्द भएपछि समूह चरणमा विजेता बनेको आधारमा नेपाल फाइनलमा पुगेको हो।

यूएईले भने सेमिफाइनलमा ओमानलाई डकअर्थ लुइस नियमको आधार दुई रनले हराउँदै नेपालसँगको फाइनल भिडन्त निश्चित गरेको हो। समूह चरणमा भने यूएई हङकङसँग एक खेलमा पराजित भएको थियो।

वैशाख १७, २०८० आइतबार ०८:५८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।