निर्मल पुर्जाले अनधिकृत सिलिन्डर राख्दा विस्फोट भयो भन्दै अदालत पुगे घरधनी
काठमाडौँः निर्मल पुर्जाले अनधिकृत तरिकाले आफ्नो घरमा ग्यास सिलिण्डर भण्डारण गरेको र विष्फोट भएको भन्दै घरधनी टंक घिसिङले अदालतमा मुद्दा दर्ता गरेका छन्।
निर्मल पुर्जाको समेत लगानी रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिको कार्यालय रहेको कपनस्थित घिसिङको घर गएको असोज ५ गते विस्फोटक पदार्थ पड्किएर जलेको थियो।
घरधनी टंक घिसिङले काठमाडौँ जिल्ला अदालत पुगेका हुन्।
कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घरमा भाडावालाले अनधिकृत रूपमा सिलिण्डर भण्डारण गरेको आरोप लगाएका छन्।
सिलिण्डर विस्फोटनबाट भएको क्षतिपूर्ति दाबी गर्दै घिसिङले मुद्दा हालेका हुन्।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको उक्त साढे दुईतले आरसीसी पक्की घर विष्फोट हुँदा पूर्ण रूपमा ध्वस्त भएको थियो।
सिलिण्डर ग्यासको विस्फोटनबाट भएको क्षतिको हिसाबमा उक्त विस्फोटलाई अहिलेसम्मकै सबैभन्दा ठूलो मानिन्छ।
नगरपालिकाले गरेको इन्जिनियरिङ अध्ययनपछि पूर्ण रूपमा घर ध्वस्त भएकाले घर रेक्ट्रोफिटिङबाट समेत प्रयोगमा आउन नसक्ने निष्कर्ष निकालिएको थियो।
भग्नावशेष हटाएर नयाँ घर बनाउनुपर्ने सिफारिस भएपछि घरधनीहरू भाडावाला कम्पनी र तिनका सञ्चालकसँग क्षतिपूर्ति दाबी गर्न अदालत पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, बुढानिलकण्ठ नगरपालिकालगायत सबैजसो निकायमा धाएपछि भाडावाला कम्पनीले मौखिक र लिखत रुपमा क्षतिपूर्ति बेहोर्ने कबुल गरेको थियो।
तर घटनाको ६ महिना बितिसक्दा पनि रकम नपाएकाले घरधनी घिसिङ र उनकी पत्नी दालुम कित्तर घिसिङले जिल्ला अदालतमा मुद्दा दायर गरेका घिसिङका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन सिफारिस गरेको थियो।
तर भाडावाला कम्पनीबाट क्षतिको रकम नपाएपछि मुद्दामा जानुपरेको अधिवक्ता लुईंटेल बताउँछन्।
मुद्दा परेपछि काठमाडौँ जिल्ला अदालतते कम्पनीको शेयर कारोबार, सञ्चालकको नाममा रहेको जग्गा र कम्पनीको बैंक खाता रोक्का गरिसकेको छ ।
२०७७ मंसिर १ गते १० बुँदे करार सम्झौता गरी घर भाडामा लिई पर्यटन व्यवसाय चलाएको प्रालिले मासिक ३० हजार भाडा तिर्ने र क्षति भए पूर्तिसमेत आफैंले गर्ने र घर दुरुस्त अवस्थामा राख्नुपर्नेसहित करार सम्झौता गरेको थियो।
पर्यटन व्यवसायमा संलग्न कम्पनी र त्यसका सञ्चालकले भाडामा लिएको घरमा अनधिकृत रुपमा ग्यास सिलिण्डर भण्डारण गरिआएका कारण घरमा विस्फोट भएको थियो ।
बीभत्स घटनाउपर कुनै छानबिन र कानुनी कारबाही नभएपछि घिसिङ परिवार रकम दाबी गर्न बाध्य भएका लुईंटेल बताउँछन्।
बुढानिलकण्ठ नगरपालिका ११ नंं. वडा कार्यालयले वडाध्यक्ष राजु अधिकारीको संयोजकत्वमा समिति गठन गरी क्षतिपूर्ति दिलाउन पटकपटक छलफल गरे पनि सहमति भएको थिएन।
विपक्षी इलाइट हिमालयन एभभेन्चर्स प्रालि तथा त्यसका सञ्चालकहरूले क्षतिपूर्ति रकम दिनेतर्फ कुनै चासो नदेखाएका घरधनीका वकिल लुईंटेलले बताए।
उक्त घटनामा कम्पनीमा कार्यरत ३ जना कामदार कर्मचारीहरूको मृत्यु भएको थियो भने घरभित्र रहेका सामानहरूमा आगजनी भएको थियो।
उक्त विष्फोटमा आफ्नो ३ करोड ५५ लाख रुपैयाँको धनमाल नष्ट भएको घरधनी घिसिङको दाबी छ।
तीन जनाको ज्यान जाने गरी कपनमा भएको विस्फोटको प्रमाण दुई वटा ग्याँस सिलिन्डर मात्र !
रहस्यमय आगलागीबाट भूत बङ्गला बनेको कपनको भव्य घर, दुवै पक्ष आफूलाई पीडित भन्छन्, राज्य रमिते छ
वैशाख १६, २०८० शनिबार २१:३४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।