कुवेतविरुद्ध नेपालको जित, फाइनलमा यूएईसँग भिड्ने पक्का
कुवेतविरुद्धको खेलमा वर्षा बाधक बनेर रद्द भएपछि नेपाल एसीसी प्रिमियर लिगको फाइनलमा पुगेको छ।
आज त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको थियो। तर ८.३ ओभर बलिङ गरेपछि पुनः वर्षा भएकाले खेल रद्द गरिएको हो।
कुवेतले उक्त ओभरमा ६ विकेट गुमाएर मात्र ३७ रन बनाउन सकेको थियो। नेपालका करन कसीले ५ विकेट लिएका थिए।
मैदानमा भारी वर्षा हुँदा सुपर ओभरसमेत हुन नसकेको हो। नेपाल समूह 'ए' को विजेता र कुवेत समूह 'बी' को उपविजेता हो।
खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।
उता अर्को सेमिफाइनलमा यूएईले ओमानलाई हराएको छ। मुलपानी क्रिकेट ग्राउण्डमा भएको खेलमा पनि वर्षाले बिथोलेपछि खेल डर्कवर्थ नियममा गएको थियो। जहाँ यूएईले २ रनको जित निकाल्न सफल भयो।
२३६ रनको लक्ष्य पाएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो।
अब नेपालले फाइनलमा यूएईसँग खेल्ने छ।
वैशाख १६, २०८० शनिबार १७:२०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।