‘हल्कारा’का अभिनेता र सिनेमाटोग्राफरले अमेरिकामा जितेको अवार्ड हस्तान्तरण

‘हल्कारा’का अभिनेता र सिनेमाटोग्राफरले अमेरिकामा जितेको अवार्ड हस्तान्तरण

काठमाडौं : चलचित्र ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’ मा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ ।

गत वर्ष ५५ औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो।

उत्कृष्ट चलचित्रको अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमा नै पुगेर लिएका थिए।

त्रिपाठी र राजभण्डारी नेपालमा नै रहेका कारण फेस्टिभलमा सहभागिता जनाउन पाएका थिएनन्। फेस्टिभलले दुवै जनाको अवार्ड हुलाकमार्फत नेपाल पठाएको हो।

यो चलचित्र नेपालमा यही वैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ। 

 हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ।

हल्कारा नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमीफाइनल सम्म पुगेको थियो।

त्यस्तै, यस फिल्म युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्।

वैशाख १६, २०८० शनिबार ११:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।