'रगत नपाए बुटवल जानू' अभियान चलाएका जीवनदाता शिक्षक चौहान
रगत अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्य राखेका शिक्षक कृष्ण चौहान रगतको जोहोमा दैनिक खटिन्छन्।
लेखा विषयका शिक्षक चौहान बिहान कलेज पढाउँछन् भने त्यसपछिको अधिकांश समय उनी रगतकै खोजीमा लागिपर्छन्।
कसैलाई रगत चाहिए, आपतकालीन अवस्थामा रगत जोहो गर्नुपरे उनैलाई सम्झन्छन् बिरामीका आफन्त । उनले एक सहकारीको नेतृत्वसमेत सम्हालेका छन् । सहकारीलाई समेत केही समय छुट्याउने चौहानले ‘रगत नपाए बुटवल जानू’ अभियान नै चलाउँदै आएका छन्।
चौहान पछिल्लो समय रक्तदाताले निःशुल्क दिएको रगत बिरामीलाई पनि निःशुल्क दिलाउने अभियानमा छन । ‘हामीले निःशुल्क दिएको रगत सबैले निःशुल्क पाउनुपर्छ भन्ने अभियान थालनी गरेका हौँ । लुम्बिनी प्रदेश सरकारले यसको सम्बोधन गरेको छ । तर शुल्क समायोजनमा भने असहमति छ’, उनले भने ।
चौहान रगतको खोजी मात्र गर्दैनन् । आफूले प्रत्येक ३-३ महिनामा आफैँ पनि रक्तदान गर्छन् । अरूलाई पनि रक्तदान गर्न सुझाउँछन्।
नेपाल नियमित रक्तदाता समाज बुटवलका अध्यक्षसमेत रहेका चौहान रगत जुटाउने अभियानका अगुवा हुन्। उनीसँग आपत पर्दाका लागि दुर्लभ रगत समूहसहित करिब ६ सय रक्तदाताको सूची नै छ।
दुर्लभ रगतका रक्तदाताहरूलाई सम्पर्कमा राखेका कारण जस्तोसुकै कठिन स्थितिमा पनि बिरामीलाई रगत उपलब्ध गराउन सक्ने भइसकेका छन् चौहान।
डेंगु प्रकोपको समयमा आवश्यक पर्ने सेतो रगत व्यवस्थापन गर्ने, कोभिडका बेला प्लाज्मा व्यवस्थापन गर्ने काममा समेत चौहान सक्रिय थिए ।
३ वर्षदेखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महिलाहरूलाई मात्रै सहभागी गराएर रक्तदानमा महिला सहभागिता पनि उनले चलाउँदै आएका छन्।
उनको नेतृत्वमा महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम हुने गर्छ। यसले बुटवलमा रगतको अभाव हुन पाएको छैन । त्यसबाहेक हुने नियमित रक्तदान कार्यक्रममा पनि उनी सहयोगी बन्दै आएका हुन्छन्।
चौहानलाई रक्तदान गरेर समाजसेवा गरेबापत एसियन थाई फुड प्रोडक्ट्स प्रालिले ‘समाजसेवा भोक’ नामक सेवाबाट १ लाख रुपैयाँसहित सम्मान पनि गरेको थियो।
त्यस्तै बुटवल जेसिजले प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कार, रोटरीले प्रदान गर्ने कोभिड हिरो, नेपाल रेडक्रस सोसाइटीबाट रजत पदक, स्वर्ण पदक चौहानले प्राप्त गरिसकेका छन् ।
यसरी सुरु भयो रक्तदानको अभियान
२०६१ सालमा पुष्पलाल पार्कमा भेटिएका एक अपरिचित वद्धले ‘छोरी बिरामी भएर रगत चाहिएको छ, सक्नुहुन्छ भने सहयोग गर्नुस्’ भने ।
त्यसपछि चौहान आफैंले रगत दिने भन्दै ब्लड बैंकमा पुगे । तर, उनको प्रेसर कम भयो । रगत दिन पाएनन् । बिरामीलाई रगत दिन नपाएकोमा निराश बन्दै उनी घर फर्किए । त्यो बेला वाणिज्य विषयमा मास्टर्स डिग्री पढ्दै गरेका उनलाई रक्तदानबारेमा थाहै थिएन ।
केही दिनपछि उनले स्थानीय बुटवल एफएममा सरोज सिलवालको अन्तर्वार्ता सुने । सरोज सिलवाल नेपाल नियमित रक्तदाता संघ, बुटवलका अध्यक्ष थिए । त्यही सूचनाका आधारमा रक्तदान कार्यक्रममा भाग लिन ब्लड बैंकमा पुगे । त्यो बेला उनको प्रेसर ठीक अवस्थामा आइसकेको थियो।
चौहानले २३ पुस २०६१ मा पहिलो पटक रक्तदान गरे । त्यो बेलादेखि हरेक ३/३ महिनामा रक्तदान गर्दै आएका उनले हालसम्म ७७ पटक रक्तदान गरिसकेका छन् ।
पछि नेपाल नियमित रक्तदाता संघ, बुटवलका अध्यक्ष सरोज सिलवालको दुर्घटनामा मृत्यु भयो। त्यसपछि संस्थाले गति लिन सकेको थिएन । सो संस्थाको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य थिए । चौहानले कर्माचार्यसँग कुरा गरेर २०६९ चैतमा नेपाल स्वयंसेवी रक्तदाता समाज, रूपन्देही शाखा खोले । २५ जना सदस्यसहित गठन गरिएको समाजमा अहिले आजीवन ४ सयभन्दा बढी सदस्यहरू आबद्ध छन् ।
चौहानकै नेतृत्वमा बुटवलमा ‘स्टाटस १८ स्टार टिम’ नामक रक्तदान अभियानबाट पनि सुरु भएको छ । १७ औँ वर्ष पूरा गरेका युवालाई लक्षित गर्दै १८औँ जन्मदिनमा रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको चौहान बताउँछन् ।
अब रुपन्देहीमा स्वयंसेवी रक्तदाताहरूको आफ्नो छुट्टै ब्लड बैंक सञ्चालन गर्ने तयारीमा जुटेका चौहानले त्यस ब्लड बैंकमा रगत छैन भन्ने अवस्था आउन नदिने योजनामा छन् । सबै बिरामीका लागि निःशुल्क रगत व्यवस्थापन गर्नेसमेत उनले बताए ।
हाटबजार गरेरै डिग्री पास !
चौहान साच्चि नै रक्तदान अभियानका भोका छन । १६ असार २०३७ मा बुबा अन्नुसिंह क्षत्री र आमा टीकादेवी क्षत्रीको कोखबाट कान्छो छोराका रूपमा जन्मिएका उनको बाल्यकाल बुटवलमै बित्यो ।
सामान्य परिवारका उनले बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालय (तत्कालीन कालिका) बाट एसएलसी र वाणिज्य क्याम्पसबाट प्लस टु सके।
२०५७ सालमा स्नातक सकाएपछि व्यापार गर्न थाले । बुटवलका हाटबजारमा थानका कपडा बिक्री गर्ने उनले २०६३ सालमा मास्टर्स डिग्री सकाएपछि २ वर्षसम्म मात्र कपडा बिक्री गरे ।
त्यसपछि उनी शिक्षण पेशामा जोडिए।
ग्लोरियस, अक्सफोर्ड, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय हुँदै हाल बुटवलको एभरेष्ट माविका प्लस टु संयोजकसमेत रहेका उनी कार्यालय समयपछिको समय रगत व्यवस्थापन र सहकारीलाई दिने गरेका छन् ।
उनी बुटवलको सशक्त बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छन् । प्रदेश बचत तथा ऋण सहकारी संघको लेखा सुपरिवेक्षण समितिको संयोजक पनि हुन् चौहान।
वैशाख १६, २०८० शनिबार १०:३९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।