सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल, भारत र पाकिस्तानसँग खेल्न दुई जित बाँकी
काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा आज कुवेतसँग भिडन्त गर्दैछ।
नेपाल यस खेलमा कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्दै एसिया कप छनोटको नजिक पुग्ने योजनामा छ।
नेपाल समूह चरणमा अपराजित रहँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चार खेल मध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षका कारण अंक बाँडेको थियो।
कुवेतले भने समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। कुवेतले समूह चरणको चार खेल मध्ये तीन खेल जितेको थियो।
अन्तिम खेलमा बलियो मानिएको टिम हङकङलाई हराउँदै कुवेत सेमिफाइनलमा पुगेको हो।
नेपाल भने समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गर्दै मात्र १५७ रनमा अल आउट भएको थियो। तर सानदार बलिङको सहयोगमा नेपालले खेल जितेको थियो।
उक्त खेलमा आराम दिइएका अलराउन्डर करण केसी आज खेलमा फर्कने सम्भावना छ।
आज नै हुने अर्को सेमिफाइनल खेलमा यूएई र ओमानबीच पनि मूलपानी मैदानमा भिडन्त हुँदैछ।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई उपाधिको प्रमुख दाबेदारको रुपमा हरिएको छ।
नेपालले यो उपाधि जितेमा पहिलो पटक एसिया कपमा छनोट हुने इतिहास पनि बनाउनेछ।
उता आईसीसीको एशोसिएट राष्ट्रले भारत र पाकिस्तान जस्तो टेष्ट मान्यता प्राप्त टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटका लागि आफैंमा ठूलो उपलब्धि समेत हुनेछ।
एसिया कप यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। एसिया कपको यो १६ औं संस्करण एकदिवसीय फर्म्याट (५० ओभर) मा खेलाइँदैछ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगितामा एसियाबाट पाँच टेष्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सोझै छनोट भइसकेका छन्। अब यस एसीसी प्रिमियर कपबाट विजेता एक टिम एसिया कपमा छनोट हुनेछ।
यस बाहेक यस प्रतियोगिताका शीर्ष तीन टिम यसै वर्ष हुने एसीसी इमर्जिङ टिम एसिया कपका लागि पनि छनोट हुनेछन्। यस प्रतियोगितामा भने एसियाका पाँच टेष्ट खेल्ने राष्ट्रका ए टिमले खेल्नेछन्।
वैशाख १६, २०८० शनिबार ०८:०३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।