अब कृषकका खेतखेतमा पुग्ने छ कृषि एम्बुलेन्स
दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । साथै पालिकाले वडा नम्बर ८ सिस हनियाँ नयाँ बजारमा तरकारी सङ्कलन तथा बिक्री केन्द्र पनि स्थापना गरेको छ ।
अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी संकलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ ।
बिघौँबिघा तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारूले बताए।
'घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहजभएको छ', थारूले भने।
वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिब १८ कट्ठामा विभिन्न जातका तरकारी रोपेका छन्। अहिले उनको खेतबारीमा लौका, काँक्रा, करेला, भिँडी तयारी अवस्थामा छ, राम्रो फलेको छ तर ढुवानी गरेर बजारसम्म लैजान समस्या भएको थियो । कति तरकारी टिपेर घर लिएर राखेको कुहिएको छ भने केही बजार लगेर बिक्री गरेको उनको भनाइ छ।
उनका अनुसार आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन्, त्यही भएर मान्छेलाई मदजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए अब सजिलो हुने भयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकको समस्यालाई मध्यनजर गर्दै तरकारी संकलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए।
'कृषकले उत्पादन गरेका तरकारी सही समयमा बजार नपुग्दा कृषकले बेहोर्नुपरेको क्षतिलाई हामीले गम्भीर रूपमा लिएका छौँ, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौँ', अध्यक्ष विष्टले भने।
लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारूले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए।
देउखुरीमा भएका चारवटै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सके यहाँका कृषकले लामो समयदेखि ढुवानीमा झेल्दै आएका समस्या समाधान हुने उनले बताए।
वैशाख १५, २०८० शुक्रबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।