उपचुनावबाट आत्तिनुपर्दैन, कांग्रेसप्रतिको आकर्षण घटेको छैनः आरजु राणा

उपचुनावबाट आत्तिनुपर्दैन, कांग्रेसप्रतिको आकर्षण घटेको छैनः आरजु राणा

धनगढीः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले प्रतिनिधिसभा उपचुनावको नतिजाबाट कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएकी छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उनले भनिन्, 'उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।'

कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भनिन्, 'युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।'

कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको उनले दाबी गरिन्। पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई उनले आग्रह पनि गरिन्। 

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला संघका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवा लगायतले समसामयिक विषयमा बोलेका थिए। 

वैशाख १५, २०८० शुक्रबार १९:०२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।