फ्राइडे रिलिजः एकैसाथ भिड्दैछन् चार फिल्म

फ्राइडे रिलिजः एकैसाथ भिड्दैछन् चार फिल्म

फ्राइडे रिलिजअन्तर्गत वैशाख १५ गते एकैसाथ चार नेपाली फिल्म रिलिज भएका छन्। 

सुदर्शन थापाको निर्देशनमा तयार भएको 'प्रसाद २' को निर्माता सुदर्शन बस्नेत हुन् । 

सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रको कथा सुशील पौडेलले लेखेका हुन् । फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पन थापाको मुख्य भूमिका छ। फिल्म प्रसादको सिक्वेल हो। 

उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यो फिल्मको रिलिज डेट धकेलिएको थियो। 

उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो । 

त्यसैगरी चर्चित नाइँ नभन्नु लको सिक्वेल नाइँ नभन्नु ल ६ पनि शुक्रबारैबाट रिलिज भएको छ। 

विकास आचार्यको निर्देशन बनेको फिल्ममा आशीर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका छ। फिल्ममा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायत पनि छन्। 

फिल्म आख्यान फिल्म्सको ब्यानरमा बनेको हो। यसका निर्माता सिविन दाहाल र सञ्जय न्यौपाने हुन्। विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले यसको पटकथा लेखेका हुन्। 

यस्तै राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको जीवनमा आधारित ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ पनि रिलिज भएको छ। 

अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले निर्देशन गरेको डकुमेन्ट्री सिनेमालाई पासाङ ल्हामु फान्डेसनले निर्माण गरेको हो। दुर्गम क्षेत्रकी एक आदिवासी महिलाको संघर्ष, अवरोध र समाजदेखि परिवारसम्मको सहयोग फिल्ममा देखाइएको छ। 

यस्तै अर्को फिल्म कैदीको पत्र पनि शुक्रबारबाटै रिलिज भएको छ। सनम कुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ मा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायत नेपाली तथा बेलायती कलाकारको अभिनय छ।

वैशाख १५, २०८० शुक्रबार १३:२७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।