कमैयामुक्ति आन्दोलनका सफल नेता लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री

कमैयामुक्ति आन्दोलनका सफल नेता लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री

बुटवलः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा चौधरीलाई बिहीबार नियुक्त गरेका हुन् । 

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा सक्रिय डिल्ली चौधरी तुलसीपुर उपमहानगरपालिका-६ डुम्रीगाउँका हुन् ।

२०५७ सालमा कमैया आन्दोलनको अगुवाइ गरी कमैया मुक्तिको घोषणा गर्न सफल बनाउने नेतृत्वकर्ता चौधरी लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।  

२०२६ असार १५ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री चौधरीले स्नातकसम्म अध्ययन गरेका छन्। 

टुकलाल र सोमतीका सन्तान चौधरी कांग्रेसको २०६४ देखि निरन्तर महासमिति सदस्य निर्वाचित भएका छन्। २०७० सालमा संविधान सभा सदस्यसमेत बनेका उनी ०७३/७४ सम्म श्रम राज्यमन्त्री बनेका थिए।

२०७४ सालमा दाङ क्षेत्र नं. ३ (क) बाट प्रदेश सभामा निर्वाचित भएका थिए उनी । लुम्बिनी प्रदेशमा कुल प्रसाद केसीको नेतृत्वमा बनेको सरकारमा ०७८ देखि ०७९ पुस २७ गते सम्म पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भएका थिए। पुनः ०७९ सालमा भएको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट उनी विजयी भए। २०७९ सालमा कांग्रेस संसदीय दलको नेता चुनिएका थिए । 

विश्वका ३० बढी राष्ट्रको भ्रमण र विभिन्न विश्वविद्यालयमा अध्यापन गरेको अनुभव सँगालेका चौधरीले सामाजिक कार्यबाट पनि निकै नाम कमाएका थिए । 

कुनै बेला डिल्ली चौधरीको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो । चौधरीले थारू समुदाय सहित अन्य अल्पसंख्यक गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत उनी टुकी लिएर गाउँगाउँ छिर्ने गर्थे।

कमैया मुक्ति आन्दोलन र थारू समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बालअधिकारको क्षेत्रमा पनि क्रियाशील रहे। भारतका 'बाल बचाओ' अभियानका कैलाश सत्यार्थीसँगको सम्बनधा कारण कारण उनी बालबालिकाको शिक्षा क्षेत्रमा पनि क्रियाशील भएका थिए । 

१७ वर्षको कलिलो उमेरमा नै चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपमा विपन्न तथा पिछडिएका जनता उत्थानका लागि संगठन बनाएका थिए।

नेपालको कोर तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले वञ्चितीकरणमा परेका आदिवासी थारू र पछिपरेका अन्य समुदायमा केन्द्रित भएका उनको कामले नेपाल र बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ । 

थारू समुदायमा जमिनदारहरूले दास राख्ने र आर्थिक तथा सामाजिक श्रमिक शोषणविरुद्ध लागिरहे उनी। पुस्तौं पुस्तासम्म थारुमाथि भएका शोषण देखेपछि उनी कमैया मुक्तिको आन्दोलनमा होमिएका थिए। सफल पनि भए। 

राजनीतिक परिवर्तन र  सशक्तीकरणमा जुटेका चौधरीलाई तत्कालीन निरंकुश पञ्चायत शासन व्यवस्थाले देशद्रोहीको आरोप लगाउँदै पटकपटक हिरासतमा राखेको थियो। 

उनले अशोका फेलोशिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्कार अमेरिकी भूतपूर्व राष्ट्रिपति जिमि कार्टरबाट प्राप्त गरेका हुन् ।

द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासताविरुद्ध काम गरेबापत प्राप्त गरेका चौधरीले नेपाल सरकारबाट सुप्रबल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा राम कृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) प्राप्त गरेका थिए । 

वैशाख १४, २०८० बिहीबार २१:०३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।