अयोग्य लडाकुका नाममा ८० करोड बाँड्दै प्रचण्ड, सरकारमा रहेको कांग्रेसकै विरोध

अयोग्य लडाकुका नाममा ८० करोड बाँड्दै प्रचण्ड, सरकारमा रहेको कांग्रेसकै विरोध

काठमाडौंः अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दरले रकम बाँड्ने कार्यविधि बनेलगत्तै सत्ताधारी दल नेपाली कांग्रेसको एक समूह विपक्षमा उभिएको छ।

पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहमन्त्रीसमेतको कार्यभार सम्हालेका बेला कार्यविधि बनाएर प्रतिव्यक्ति २ लाख बाँड्ने निर्णय भएको थियो। निर्णयअनुसार बुधबार कार्यविधि पारित भएको थियो। जसमा कांग्रेसको शेखर कोइराला समूह विपक्षमा उभिएको छ। 

शेखरले बिहीबार सामाजिक सञ्जालमार्फत 'अयोग्य लडाकुलाई पैसा नभई रोजगार दिन' सुझाव दिँदै कार्यविधिको विरोध गरेका छन्। 

शेखर समूहकै महामन्त्री गगनकुमार थापा पनि यसको विपक्षमा उभिए। उनले सञ्जामा लेख्दै राज्यकोषमा स्रोतको दबाब बढेको बेलामा ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने निर्णय गलत भएको अभिव्यक्ति दिए। 

रकम बाँड्नुभन्दा संक्रमणकालीनसम्बन्धी कानुन बनाएर पीडितलाई न्याय दिन सरकार केन्द्रित हुनुपर्ने उनको सुझाव छ।

एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको समयमा प्रचण्डले मन्त्रिपरिषद्बाट पैसा बाँड्ने निर्णय गराएका थिए।

विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् बैठकबाट उनले राष्ट्रसंघीय संस्था अनमिनबाट प्रमाणीकरणमा ‘अयोग्य’ ठहर भएका द्वन्द्वकालका लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने निर्णय गरेका थिए।

शान्ति प्रक्रिया सुरु भएपछि माओवादीका लडाकुको योग्यता जाँच्न उनीहरूलाई सात मुख्य शिविर र २१ सहायक शिविरमा राखिएको थियो। २०६८ चैत २८ मा माओवादी लडाकुको सेनामा समायोजन प्रक्रिया सकिएको थियो।

शिविरमा रहेकामध्ये अनमिनले प्रमाणीकरण गरेका १५ हजार ६३० जना लडाकू ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्किएका थिए।

४ हजार ९ लडाकु भने बाल सैनिक भएका आधारमा अनमिनबाट अयोग्य ठहर भएका थिए। उनीहरूलाई २ लाखको दरले सहायता दिँदा राज्य कोषबाट ८० करोड खर्च हुन्छ।

प्रचण्डले फागुन १५ गते मन्त्रिपरिषद्बाट माओवादी सशस्त्र द्वन्द्वकालदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो। 

निर्णयअनुसार राजपत्रमा ८ हजार तीन सय ७१ जनाको नाम प्रकाशित भइसकेको छ। राष्ट्रिय शहीद घोषणा भएकालाई सरकारले १० लाखसहित अन्य सुविधा र सहयोग दिने गरेको छ।

शहीद परिवारलाई १० लाख सहयोग दिँदा मात्र पनि राज्य कोषको ८ अर्ब ३७ करोड खर्च हुनेछ।

सरकारी ढुकुटी दोहनमा ‘प्रचण्डलीला’ : शहीद र अयोग्य लडाकूको नाममा नौ अर्ब बाँड्दै

वैशाख १४, २०८० बिहीबार २०:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।