लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त भएका छन् ।

दाङ क्षेत्र नम्बर ३ (क) प्रदेश सभा सदस्यमा निर्वाचित भएका चौधरीले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीलगायत ५३ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

दाबीअनुसार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा चौधरीलाई बिहीबार नियुक्त गरेका हुन् । 

नवनियुक्त मुख्यमन्त्री चौधरीको सपथ ग्रहण शुक्रबार विहान हुनेछ । प्रदेश प्रमुखको सचिबालयका अनुसार शुक्रबार विहान साढे ११ बजे मुख्यमन्त्रीको सपथ हुनेछ ।

गत पुस २७ मा संविधानको धारा १६८ (ख) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । उनले ५३ जनाको समर्थन रहेको हस्ताक्षरसहितको दाबी पेश गरेका थिए । 

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद छन् ।

वैशाख १४, २०८० बिहीबार १८:२२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।