प्रचण्डले वचन नफेर्दा गण्डकीका मुख्यमन्त्री भए पाण्डे

प्रचण्डले वचन नफेर्दा गण्डकीका मुख्यमन्त्री भए पाण्डे

कास्कीः मंसिर ४ प्रतिनिधिसभा निर्वाचनमा गोरखामा पुष्पकमल दाहाल 'प्रचण्ड' भावी प्रधानमन्त्रीको रूपमा उम्मेदवार बन्दै गर्दा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा प्रचार गरिएको थियो। 

पाण्डेले पटक-पटक मुख्यमन्त्रीका लागि प्रचण्डले वचन दिएको दाबीसमेत गरेका थिए। प्रचण्डसँगै उनी पनि गोरखा-२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए।

प्रधानमन्त्री बन्न गठबन्धन छाड्नैपर्ने भएपछि प्रचण्ड कांग्रेस छाडेर एमालेतिर जाँदा सबैभन्दा धेरै चित्त पाण्डेकै दुखेको थियो।  

प्रचण्डले वचन दिए पनि परिस्थिति बदलिँदा आफू मुख्यमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएको पाण्डेले बताएका थिए। 

केन्द्रीय सत्ता समीकरण फेरिएपछि एमाले प्रमुख प्रतिपक्षको कित्तामा पुग्यो। प्रचण्डले बाचा पूरा गरे। बिहीबार पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त भए। 

प्रदेश प्रमुखको आह्वानपछि सुरेन्द्रले प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरे। ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसहित ३५ जनाले समर्थन गरे।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे।

माओवादी र राप्रपाको साथले गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार बनेको थियो। गठबन्धन बदलिएलगत्तै उनी अल्पमतमा परेका थिए। र दोस्रो पटक विश्वासको मत पाएनन्। मुख्यमन्त्री बन्न पाण्डेको ढोका खुल्यो।

वैशाख १४, २०८० बिहीबार १६:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।