चल्ने भए साढे २ वर्षदेखि थन्किएका लुम्बिनीका बिजुली बस
बुटवल : साढे २ वर्षदेखि कानुनी अड्चनका कारण अलपत्र अवस्थामा लुम्बिनीमा थन्किएका विद्युतीय गाडी अब भने सञ्चालनमा आउने भएका छन्।
बैशाख ८ गते लीला गिरी नेतृत्वमा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रुपान्तरण गर्ने निर्णय गरेसँगै विद्युतीय बस सञ्चालनमा आउने भएका हुन्।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रदेश सरकारको निर्णयले कानुनी अड्चनका कारण लामो समयदेखि थन्किएका विद्युतीय बस सञ्चालनको बाटो खुला भएको बताए।
प्रदेश मन्त्रिपरिषद बैठकले सेतो नम्बर नम्बर प्लेटमा दर्तामा रहेका ५ वटा बस र १४ वटा भ्यानलाई हरियो नम्बर प्लेटमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (पछिल्लो संशोधन) मा समेत स्पष्ट व्यवस्था नभएकाले मन्त्रिपरिषद बैठकले सेतो नम्बर प्लेटमा दर्ता भएका सवारीलाई हरियो नम्बर प्लेटमा रुपान्तरणका लागि उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन वि.सं २०७७ मंसिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो। तर, आवश्यक कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमुना तयार नहुँदा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि थन्किएका थिए ।
लामो समय खुला आकाशमुनी थन्किएपछि लुम्बिनी विकास कोषले विद्युतीय बस र भ्यान सञ्चालनका लागि कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्व गठित ३ सदस्यीय कार्यदलले कार्यविधि निर्माण गरि सञ्चालनको मोडेल समेत बनाएको थियो। तर त्यो कार्यान्व्यनमा आएन।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग लगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन एसियाली विकास बैंकको अनुदान सहयोगमा विद्युतीय बस लुम्बिनी ल्याइएको थियो।
५ वटा विद्युतीय बस र १४ वटा भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको थियो। मन्त्रालयले बस र भ्यान हस्तान्तरणपछि यातायात व्यवस्था कार्यालय बुटवलबाट सेतो नम्बर प्लेटमा दर्ता गरिएको थियो।
एसियाली विकास बैंकको अनुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान, चार्जिंङ स्टेशन, सोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि २८ करोड लागत लागेको थियो।
वैशाख १४, २०८० बिहीबार १३:४६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।