सबै खेल हारेको कतारसँग अपराजित नेपालको लज्जास्पद ब्याटिङ, १५७ रनमै अलआउट
काठमाडौं : प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले एसीसी प्रिमियर कपको खेलमा कमजोर मानिएको कतारविरुद्ध निकै खराब ब्याटिङ गरेको छ।
समूह चरणमा हालसम्म खेलेका सबै खेल हारेको कतारविरुद्ध नेपाल ४०.३ ओभरमा मात्र १५७ रनमै अलआउट भयो।अब जितका लागि कतारले ५० ओभरमा मात्र १५८ रनको सहज लक्ष्य पाएको छ।
नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछाने बाहेक कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।
समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २ रनमा क्याच आउट हुँदा भिम सार्की पनि मात्र ६ रनमा पेभोलिएन फर्किए।
मात्र ९ रन जोड्ने क्रममा सुरुवाती २ विकेट गुमाएको नेपालका अर्का ओपनर आशिफ सेख पनि १९ रनमा आउट भए।
नेपाली ब्याटिङको पतन यती मै रोकिएन। यसपछि कप्तान रोहित पौडेल २७ रन जोड्दै बाटो लाग्दा कुशल मल्ल मात्र ३ रनमा आउट भए।
सोमपाल कामी पनि मात्र ११ रनमा आउट भए हुँदा मात्र ८४ रनमा नेपालको ६ विकेट गुमिसकेको थियो। लगातार रुपमा नेपालले विकेट खेर फालिरह्यो।
आरिफ सेख ११ र दिपेन्द्र सिंह ऐरी १२ रनमा आउट भए। गुल्शन झाले पनि सात रन मात्र बनाउँदा मात्र १११ रनमा नेपालको ९ विकेट खसिसकेको थियो।
यसपछि सन्दिपले केही सम्हालिएर ब्याटिङ गर्दै नेपालको इनिङलाई उकासेका थिए। उनले ५८ बलमा ६ चौकाको सहयोगमा अविजित ४२ रनको योगदान दिए।
बलिङतर्फ कतारका अमिर फरुदले ४ र ओइर अहमदले ३ विकेट लिए।
घरेलु प्रतियोगितामा नेपाल समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने कतारले सबै खेल हारेको छ।
यस प्रतियोगितामा समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आज कतारलाई पराजित गर्नुपर्ने हुन्छ।
वैशाख १४, २०८० बिहीबार १२:३१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।