अपराजित नेपाल सबै खेल हारेको कतारसँग भिड्दै, आज सेमिफाइनल प्रतिस्पर्धीको टुंगो लाग्ने

अपराजित नेपाल सबै खेल हारेको कतारसँग भिड्दै, आज सेमिफाइनल प्रतिस्पर्धीको टुंगो लाग्ने

काठमाडौं : एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारसँग भिडन्त गर्दैछ।

समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आज कतारलाई पराजित गर्नुपर्ने हुन्छ। 

घरेलु प्रतियोगितामा नेपाल अपराजित छ भने कतारले सबै खेल हारेको छ। आज समूह चरणको अन्तिम दिनको खेलपछि सेमिफाइनलमा को को भिड्ने टुंगो लाग्नेछ।

समूह ‘ए’ मा हालसम्म अपराजित रहेको नेपाल ३ खेलमा २ जित र वर्षाका कारण १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ।

समूह चरणमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ८४ रनले हराएको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। वर्षाको कारण साउदी अरबसँग भने नेपालले अंक बाँडेको थियो। 

कतार भने समूह चरणका तीनै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

यस समूहमा ओमान ४ खेलमा ३ जितपछि ६ अंकका साथ हाल शीर्षस्थानमा छ। तर आजको खेलमा नेपालले जित हात पारेमा नेपाल समूह विजेता बन्नेछ र अर्को समूहको उपविजेतासँग सेमिफाइनलमा भिडन्त गर्नेछ।

अर्को समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो पनि आजकै खेलबाट लाग्नेछ।

यस समूहमा आज हङकङले कुवेतसँग खेल्दैछ भने यस खेलको विजेता सेमिफाइनलमा पुग्नेछ। यस समूहबाट यूएई ४ खेलमा ३ का साथ सेमिफाइनलमा पुगिसकेको छ।

यस प्रतियोगिताको उपाधि विजेता टिम एसिया कपका लागि छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउँछ।

वैशाख १४, २०८० बिहीबार ०७:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।