गगनले भने'पार्टीको कमजोरी लुकाउने हैन निर्मम समीक्षा गर्ने हो'

गगनले भने'पार्टीको कमजोरी लुकाउने हैन निर्मम समीक्षा गर्ने हो'

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको कमजोरीबारे निर्मम समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।

उपनिर्वाचनको परिणामबारे सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले पार्टीमा समस्या रहेको र त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव नहुने उल्लेख गरेका छन्।

'सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौँ, मनन गरौँ अनि आफैंतिर फर्केर निर्मम समीक्षा गरौँ उनले लेखेका छन्।

उनले उपनिर्वाचनले काँग्रेसलाई दिएको सन्देश के हो ? र, यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भनेर भइरहेको बहसले पार्टी रुपान्तरणको अभियानलाई सहयोग पुग्ने लेखेका छन्।

विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमानदार आत्मसमीक्षा गर्ने समय भएको भन्दै उनले पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लाग्नुपर्ने उल्लेख गरेका छन्।

रुपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमानदार प्रयत्न गर्दै आए पनि आम चाहना अनुरूप अपेक्षित परिणाम नआएको भन्दै उनले पार्टीका साथी, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै दृढ सङ्कल्पका साथ काँग्रेस रुपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने लेखेका छन्।

काँग्रेसको सबै तहमा आबद्धले मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमानदार आत्मसमीक्षा गर्ने घडी रहेको उनले लेखेका छन्।

'आम अपेक्षा अनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन की भनेर आत्मसमीक्षा र आत्म निरीक्षण गरिरहेको छु ,' उनले लेखेका छन्' रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनै पर्छ भन्नेमा म प्रस्ट छु।'

उनले पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको र अलमलिने छुट नभएको र समर्पित र सङ्गठित प्रयत्नले परिणाम उत्साहजनक बनाउने ठाउँमा हामी छिट्टै पुग्ने धारणा राखेका छन्।

वैशाख १३, २०८० बुधबार २१:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।