रास्वपामा कांग्रेसका नेता गए, एमालेका मतदाता

रास्वपामा कांग्रेसका नेता गए, एमालेका मतदाता

तीन क्षेत्रमा भएको उपनिर्वाचन कतै अपेक्षित, कतै छक्क पार्ने नजितासहित सक्कियो। 

चितवन-२ को नतिजा अपेक्षितै थियो। तनहुँ-१ ले छक्क पार्यो। उपनिर्वाचनको माहोलमा बारा ओझेलमा पर्यो। 

भलै एकको बदला तीनको नारा पूरा भएन। एकको बदला दुई मात्र भयो। बारामा लहर पुगेन तर बारामा पराजित भए पनि रास्वपाको बीउ रोपियो उपनिर्वाचनमा। 

उपनिर्वाचनमा सबैभन्दा बिजोग भयो एमालेको। तीनै क्षेत्रमा प्रतिस्पर्धीसमेत हुन सकेनन् प्रमुख प्रतिपक्षी दलका उम्मेदवार।

गठबन्धन अनि रास्वपाका उम्मेदवार प्रतिस्पर्धी भए। एक ठाउँमा गठबनधनको जित भयो, दुई ठाउँमा प्रतिस्पर्धी। तनहुँमा कांग्रेसबाट नेता गए रास्वपामा। एमालेका त मतदाता नै गए। निर्वाचनमा २० हजार मत आएको स्थानमा आठ हजारमा झर्यो। २५ हजार मत पाएको गठबन्धनमा ठूलो पहिरो त गएन। २० हजारमा झर्यो।

मंसिर ४ को निर्वाचनमा रास्वपातिर गएको पार्टीका संगठित भोटर फर्किएको कांग्रेस-एमालेको दाबी झुटो भयो चितवनमा। मंसिर ४ मा आएको मत पनि जोगाउन सकेनन् गठबन्धन र एमालेले। पहिरै गयो दुवै उम्मेदवारको मतमा। 

रविले ५४ हजार मत पाउँदा गठबन्धनका उम्मेदवारले ११ र एमालेका उम्मेदवारले १० हजार मत पाए। कांग्रेस र एमालेले मंसिरमा क्रमशः १४ हजार ९ सय अनि १४ हजार ६ सय मत पाएका थिए। 

एमालेले चितवन-२ मा आफ्नो २९ हजार मत रहेको निष्कर्ष निकालेको थियो। उसकै निष्कर्षअनुसार पनि १९ हजार मत रवितिर गयो। गठबन्धनले ३३ हजार हाराहारीको आकलन गरेको थियो। त्योअनुसार २१ हजार मत उतै गयो। 

जति आलोचना, उति लोकप्रिय

जति बढी बदमासी सार्वजनिक भए पनि रवि उति लोकप्रिय देखिए। न कानुन उल्लंघन गरेको विषयले छोयो, न दुई करोडको बार्गेनिङले नै प्रभाव पार्यो। नागरिकताको विषयमा सर्वोच्च बोल्दा पनि मतदातालाई छोएन। विचाराधीन राहदानी मुद्दाप्रति चासो देखिएन मतदातामा। 

गृहमन्त्री हुँदा ऐन र नियमविपरीत निर्णय भएको सार्वजनिक हुँदा पनि उनको छवि खस्किएन।

मतदाताको दृष्टिमा यी सब ठूला दलका नेता अनि  मिडियाले रविलाई फसाउन चालिएका चालको सूचीमा चढ्यो। अनि मतदाता निस्किए रविलाई जोगाउन। मज्जैले जोगाए पनि।

उपनिर्वाचनको सुखद् संकेत मध्यावधि चाहने दल अब मौन बस्नेछन्। उनीहरू यो जोखिम उठाउन सक्ने अवस्थामा देखिएनन्। 

संगठित भोटको बलमा फुर्ती लगाउने ठूला दलका नेताहरूको मनमा ढ्याङ्ग्रो बज्यो। बरु हात काटिन्छ तर चुनावचिह्न फेरिन्नँ भन्ने मतदाताको मनस्थिति बदलिइसक्यो।

कांग्रेस, माओवादीका मतदातालाई अर्को दलको चिनाव चिह्नमा मत हाल्ने बानी उनीहरूले नै लगाए गठबन्धन बनाएर। हिजो कांग्रेस-माओवादीले भोट साटफेर गरे। तिनै दलका मतदातालाई घन्टी चिह्न थप सहज भयो। संगठित र बलियो मानिने एमालेका मतदाताका लागि पनि सूर्यभन्दा घन्टी स्वीकार्य भयो। 

तीन क्षेत्रको उपनिर्वाचनलाई गठबन्धनले प्रतिष्ठाकै विषय बनाएका थिए। कांग्रेस-माओवादी-नेकपा एसका नेतृत्व नै चुनावी मैदानमा उत्रिए। तनहुँ र चितवनमा कांग्रेसले लोकप्रिय मानिने दुई महामन्त्रीलाई कमाण्डर बनाए। 

मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्ड अनि शेरबहादुर देउवाको आश्वासनले काम गरेन। व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनीलाई मतदाताले पत्याएनन्। 

चुनाव प्रचारमा गगन थापा अनि विश्वप्रकाश शर्माको बेग्लै क्रेज छ। मतदातामाझ यी दुवै नेता लोकप्रिय पनि छन्। उनीहरूको सम्बोधनमा मतदाता मन्त्रमुग्ध हुन्छन् भन्ने थियो। 

चितवनमा मंसिरमा भएको निर्वाचनमा गगन अनि विश्वप्रकाश आएको भए नतिजा फरक आउने विश्लेषण सुनिएको थियो। तर त्यो गलत विश्लेषण थियो भन्ने वैशाखै पुष्टि भयो। 

रविको लोकप्रियताको अगाडि गगन-विश्वको क्रेज प्रभावहीन भयो। दुवै नेताको सभामा राम्रै जमघट देखिएकै हो। तर उनीहरूले आफ्नो उम्मेदवारलाई किन मत भनेर विश्वास जित्न सकेनन्। स्टार प्रचारकको छविमा धुलो लाग्यो।

उनीहरूले रवि अनि स्वर्णिम वाग्लेको आलोचना गर्दा उनीहरू नै आलोचित भए। गगन-विश्वको चमक फिक्का भयो उपनिर्वाचनमा। पत्याउँदै पत्याएनन् यस पटक। 

मिडियामाथि सोसल मिडियाको 'कु'

चुनावको नतिजा तलमाथि पार्न मिडियाको कुनै न कुनै भूमिका देखिने गरेको छ। कुन उम्मेदवार कस्तो भनेर मतदातालाई सूचित गर्ने भूमिका यो पटक पनि निर्वाह गर्यो मिडियाले। तर मतदाताले मिडिया हैन, सोसल मिडियालाई पत्याए। अनलाइन सञ्चारमाध्यमभन्दा फेसबुक हाबी भयो। टेलिभिजनभन्दा टिकटक प्रभावकारी भयो। 

टिकटकभरि रवि र रास्वपा छायो। व्यक्तिले जे हेर्छ त्यही देखाउने अल्गारिदम कति घातक हुन्छ निर्वाचन त्यो देखियो टिकटकमा। 

रास्वपाको उम्मेदवारको आलोचकमाथि निरन्तर आक्रमण भयो सञ्जालमा। रविलाई भोट दिन्नँ भनेर बोल्नेहरूमाथि सञ्जालमा भएको आक्रमण देखेर बोल्न चाहनेहरू पनि हच्किए। जसले बोले ती निरन्तर आक्रमणमा परे। 

रेमिटेन्स मात्र हैन भोट पनि

निर्वाचनमा बिदेसिएका नेपालीको भूमिका आफूनिकट दललाई चन्दा पठाउनेमा सीमित थियो। अब निर्वाचनमा उनीहरूको भूमिका हस्तक्षेपयोग्य बनिसक्यो।

नेपालमा हुने निर्वाचनमा गैरआवासीय अनि वैदेशिक रोजगारीमा रहेका नेपालीको भूमिका हुन्छ है भन्ने प्रारम्भ गरेको थियो विवेकशीलले। उनीहरूले मताधिकार केन्द्रित हुँदै 'नोट चल्ने भोट नचल्ने ?' अभियान चलाए।

कुनै सदस्य विदेशमा रहे पनि उनको परिवारका सदस्य त नेपालमै हुन्छन् नि। आर्थिक स्रोतको आधार रहेका विदेशमा भएका सदस्यले नेपालमा रहेकालाई आग्रह गर्दा त्यसको कुनै न कुनै प्रभाव पर्छ नै। विवेकशीलपछि साझाले त्यसको उपयोग गरेको थियो। निर्णायक प्रभाव नदेखिए पनि कुनै न कुनै सहयोग त भयो नै। 

रास्वपाले त्यसको भरपूर प्रयोग गर्यो। अमेरिका बसाइबाट फर्किएको रविको छविले काम गर्यो। 

रास्वपाले प्रचारमा  विदेशमा रहेका नेपालीलक्षित सामग्री बनायो। उनीहरूले निरन्तर घरमा फोन गरेर भोट मागिदिन आग्रह गरिरहे। 

अन्य दलका उम्मेदवारले भाषणमा बिदेसिएका नेपालीको समस्या सम्बोधन त गरे तर भोट माग्न फोन गराउन सकेनन्। विदेशमा ठूला दलका संगठनै छन्। तर ती सक्रिय हुन सकेनन्। असंगठित शक्ति नै प्रभावकारी बन्यो। फोन गरेर भोट मात्रै मागिदिएनन्। सञ्जालमा माहोल बनाउन अनि आलोचकलाई तारो बनाउन पनि सक्रिय देखिए केही।

स्वर्णिमको विद्वान छविको प्रभाव

कांग्रेसमा रहँदा बनेको विद्वान् अर्थविद्को छविले स्वर्णिमलाई फाइदा गर्यो नै, रविलाई पनि सहज भयो। स्वर्णिमको कांग्रेस त्यागले पुराना दलमा राम्रा मान्छेले मौकै पाउँदैनन् भन्ने सन्देश जबर्जस्त फैलियो।  

जसले कुनै निर्वाचनमा कुनै दलका उम्मेदवारै तोकेर भोट मागेको नदेखिएका सञ्जालमा सक्रिय विद्वानहरूले यस पटक स्वर्णिमका लागि भोट मागेको देखियो। यसमा उनको त्यही विद्वान् छविले काम गर्यो। 

कोरोनाकालपछि बढेको आर्थिक संकटले हैरान भएका मतदाताले स्वर्णिमको ज्ञानमा संकट पार गराउन सक्षम माझीको अवतार देखे। उनको बलियो सार्वजनिक छविका अगाडि 'अवसरवादी','पाहुना' 'आफ्नो श्रीमतीलाई नेपाली नागरिक बनाउन नसकेको लगायतका आरोप प्रभावहीन बन्यो। 

स्वर्णिमको छविलाई रविले पनि राम्रै उपयोग गरे। आफूलाई प्रधानमन्त्री अनि स्वर्णिमलाई अर्थमन्त्री मात्र हैन, रमेश खरेललाई गृहमन्त्रीको रूपमा अगाडि सारे।

मतदाता विश्वस्र भए। 'भावी गृहमन्त्री'ले चुनाव हारे पनि 'भावी प्रधानमन्त्री' र 'भावी अर्थमन्त्री'ले चुनाव जिते।

संगठित हुनसक्छ यी भोट 

उपनिर्वाचनको नतिजाको पूर्वानुमानमा बाराबाहेक दुवै स्थानमा बाजी मार्यो सेतोपाटी मिडियाले। तनहुँ र चितवन दुबैतिरको पूर्वानुमान मिल्यो। 

सर्वेक्षणको नतिजासँगै मतदाताको भनाइसमेत रोचक थियो। तनहुँ र चितवनका ठूला दलका कार्यकर्ता जो घन्टीमा भोट हाल्ने बताइरहेका थिए तिनले पुरानो पार्टी भने नछाड्ने बताएका थिए। 

एमालेका हुन् या कांग्रेसका सदस्य, उनीहरूले हाकाहाकी मत बदल्ने बताए। यसले निर्वाचनको बेलामा पाएको मतले तत्काल रास्वपाको संगठित जनमत बन्ने देखिएन। 

लहरबाहेक अवस्थामा पार्टीको शक्ति संगठन नै हो। संगठनले नै पार्टीको आयु लामो बनाउँछ। निर्वाचनमा आउने मत संगठन हैन भन्ने त मेयरको उम्मेदवार बन्दा रन्जु दर्शनाले पाएको मत र काठमाडौं-५ मा उम्मेदवार बन्दा आएको मतले नै देखाइसकेको छ।

पत्रकार विजयकुमार पाण्डेले रास्वपा दल हो या हैन भन्नेबारे ट्विट गरेका थिए- रास्वपा अझै पार्टी भइसकेको छैन। यो रविको मास अपिलमा अत्याधिक निर्भर छ।'

निर्वाचनदेखि उपनिर्वाचनसम्मको दृष्यले यही देखायो। मास अपिलको आयु कति हुन्छ भन्ने त एक निर्देशनमा मतदान गर्न मात्र हैन, मर्न मार्न समूह नै तयार गराउन सक्ने प्रचण्डको वर्तमान अवस्थाले देखाउँछ नै।

वैशाख १३, २०८० बुधबार १७:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।