हैजाको प्रकोप गत वर्षभन्दा बढी फैलिन सक्ने विज्ञहरूको चेतावनी, बेलैमा सजग हुन आग्रह

काठमाडौँः गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ७६ जनामा हैजा पुष्टि (केस रिपोर्ट) भएको थियो।
जुन गत वर्ष असार २ गतेदेखि भदौ २४ गतेसम्म पुष्टि भएका हैजा संक्रमितको संख्या हो।
गत वर्ष कालिमाटी वडा नं. १३ र २९ क्षेत्र, बागबजार, डिल्लीबजार, घट्टेकुलो जस्ता क्षेत्रमा हैजा देखिएको थियो।
वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकालगायत क्षेत्रमा यो वर्षसमेत हैजा फैलने जोखिम धेरै नै रहेको विज्ञहरूले बताएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नेपालको कुनै पनि ठाउँमा ठूलै रुपमा हैजा फैलने जोखिम रहेको चेतावनी दिइसकेका छन्।
‘कहीँ न कहीँ नेपालमा ठूलै रुपमा यो (हैजा) आउने सक्ने सम्भावना छ,’ डा. मरासिनिले भने,‘गत वर्ष काठमाडौंमा फैलिएको (हैजा) भन्दा धेरै ठूलो हुने सम्भावना छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि वर्षा सुरु भएसँगै हैजाको जोखिम बढ्ने बताउँछन्। हरेक वर्षजसो समस्याका रुपमा रहँदै आएकाले हैजाबाट बच्न डा. पुनको सुझाव छ।
‘वर्षा सुरु भएपछि पानीको स्रोत संक्रमित भएर हैजा फैलन सक्ने सम्भावना हुन्छ, त्यसैले सजग बन्नुपर्छ’,डा. पुनले भने।
फोहोरमैला व्यवस्थापन अभाव तथा पानीको स्रोत दुषित हुने, हिउँदमा पानी नपरी ढिलो पानी पर्नेजस्ता कारणले काठमाडौंलगायत नेपालका विभिन्न ठाउँमा गत वर्षको तुलनामा यो वर्ष हैजा फैलने जोखिम धेरै रहेको डा. मरासिनीको भनाइ छ।
‘हिउँदमा पर्ने पानीले कति कुराहरू शिथिल बनाउने, मार्ने गर्दो रहेछ,’ उनले भने, ‘चिसो पानी हो त्यो बेलाको।’
त्यसैले बेलैमा सतर्क हुन उनले सुझाव दिए।
जाजरकोटमा सन् २००९ मा हैजा फैलिएको थियो। त्यो बेला त्यहाँ पानी परेको थिएन। त्यो गम्भीर रुपमा नलिँदा नेपालको इतिहासमा सम्भवत पहिलो पटक त्यति धेरै झाडापखाला र हैजाका कारण व्यक्ति प्रभावित भएका डा. मरासिनीले बताए।
यो वर्ष हिउँदमा पानी नपरेकाले काठमाडौं उपत्यकालगायत अन्य ठाउँमा पनि हैजा फैलिने सम्भावना धेरै रहेको उनको भनाइ छ।
नेपालमा पानीको मुहान वैज्ञानिक रुपमा शुद्धीकरण गरेर वितरण गर्ने चलनसमेत अभाव भएका कारण हैजाको जोखिम बढेको हुनेसक्ने मरासिनीले तर्क गरे।
त्यसैले पानीको सर्भिलेन्स (प्रयोगशालामा परीक्षण) गर्नुपर्ने उनको सुझाव छ। ‘त्यो पानीमा इकोलाई बेसी छ कि छैन भनेर हेरेर बढी भएको ठाउँमा तुरुन्तै क्लोरिन हाल्नुपर्छ। जसले हैजाको प्रभाव कम हुन सक्छ,’ मरासिनीले सुझाए।
चिकित्सकका अनुसार मानव मलमूत्रको प्रवेश भइसकेपछि पानीमा इको भेटिन्छ। त्यसमा हैजाको पनि किटाणु मिसिन गयो भने ठूलो नोक्सान गर्छ।
गत वर्ष हैजा संक्रमितको घरको धारा र ट्युबलेका पानी परीक्षण गर्दा पानीमा इकोलाई र कोलिफर्म जीवाणु देखिएको थियो। यसको अर्थ पानीमा दिसा मिसिएको पुष्टि हो ।
गत वर्ष ६२ वटा पानीका नमुनाहरू परीक्षण गर्दा ४१ वटा नमुनामा ‘फेकल इकोलाई’ फेला परेको थियो।
के छ सरकारको तयारी ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी तथा प्रकोप व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगाना भने हैजाको परीक्षण, उपचार र रोकथामका लागि पूर्वतयारी भइरहेको बताउँछन्।
विभिन्न अनुगमन तथा पानीका जाँच गर्ने तथा सरोकारवालासँग छलफल गर्ने जस्ता काम भइरहेको उनले बताए। ‘अस्ति एउटा बैठक बसेको थियो,’ उनले भने, ‘खानेपानीको अनुगमन, सर्भिलेन्स बढाउने कुरा भएको छ।’
विभिन्न सर्भिलेन्स साइटहरू (स्वास्थ्य संस्था) बाट हैजाको शंकास्पद बिरामीको विषयमा रिपोर्टसमेत आउन थालेका उनले बताए। त्यसैगरी जनचेतना जगाउने जस्ता कार्यक्रम पनि भइरहेका उनको भनाइ छ।
सरकारले काठमाडौंका वडा. नं. ११, १२ र १३ मा एक वर्षमाथिका उमेरका लागि हैजा रोगविरुद्ध (खाने) खोपसमेत लगाएको छ।
हैजाबाट कसरी बच्ने ?
फोहोर तथा प्रदूषित पानीका कारण हैजा देखिन सक्ने भएकाले सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ।
चिकित्सकका अनुसार गत वर्ष लामो समयसम्म काठमाडौंमा फोहोर नउठ्दा खानेपानी प्रदूषित भएर हैजा देखिएको थियो।
यो वर्षसमेत काठमाडौंको फोहोर लामोसमयसम्म व्यवस्थापन हुन नसक्दा हैजाको प्रकोप बढ्ने देखिएको छ।
शुद्ध पानी पिउन, प्रदूषित खानेकुरा तथा झिंगा भन्केका खानेकुरा नखान चिकित्सकको अनुरोध छ। गर्मी र वर्षातका समयमा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा विज्ञहरूले सबैलाई सजग र सतर्क हुन आग्रह गरिरहेका छन्।
ससाना धेरै वटा मुहानको पानी फरक फरक ठाउँमा प्रयोग भएको खण्डमा पनि हैजा फैलने जोखिम तुलनात्मक रुपमा कम हुने डा मरासिनी बताउँछन्। तर, एउटै मुहानको पानी धेरै ठाउँमा पुग्ने अनि त्यो मुहान दूषित भएको खण्डमा हैजाले धेरैलाई प्रभावित बनाउने उनले बताए।
पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाएका छन्। हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ महत्वपूर्ण हुने गर्छ।
कडा किसिमको हैजाको लक्षण प्रत्येक १० संक्रमितमध्ये एक जनामा देखिन सक्ने डा. पुनले बताए। कडा लक्षण भएका हैजाका बिरामीलाई केही घण्टा उपचार गरिएन भने ५० प्रतिशतसम्म हैजा संक्रमितको मृत्यु हुन सक्ने तथ्यांकले देखाएको छ।
हैजा संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्म लक्षण देखा पर्न सक्छन् । अचानक चौलानी पानीजस्तो पातलो दिसा तारन्तार हुन थाले त्यसलाई हैजाको मुख्य लक्षण मानिन्छ।
यसबाहेक तारन्तार बान्ता हुने, खुट्टा तथा पेटका मांशपेशी बाउँडिने, तिर्खा लाग्ने, शरीर आलस्य हुने, बेचैनी हुनेजस्ता लक्षणहरू हैजाका हुन्।
शरीरमा पानी तथा शरीरलाई आवश्यक तत्वको कमी नहोस् भनेर जति धेरै पटक पखाला लाग्यो त्यति नै धेरै जीवनजल पिउनुपर्छ । अन्य समयमा पनि झाडापखाला लागेका व्यक्तिले जीवनजल पिउनु लाभदायक नै हुन्छ ।
वैशाख १३, २०८० बुधबार ०८:१५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।