गोविन्दले​​​​​​​ दिए स्वर्णिमलाई बधाई - ‘मेरा मतदाता प्रतिको अभिभारा अब तपाईंको’

गोविन्दले​​​​​​​ दिए स्वर्णिमलाई बधाई - ‘मेरा मतदाता प्रतिको अभिभारा अब तपाईंको’

काठमाडौं : तनहुँ-१ बाट उपनिर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले बधाई दिएका छन्।

स्वर्णिम कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिंदै उपनिर्वाचनमा विजयी भएका हुन्।

भट्टराईले सामाजिक सन्जालमार्फत् वाग्लेलाई बधाई दिंदै चुनावी यात्राका दौरानमा आफूहरूबीच सौहार्द प्रतिस्पर्धा भएको र संयोगले स्वर्णिम वाग्ले निर्वाचित भएको बताए।

उनले आफूले त्यस क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन नसकेको समेत बताए।

उनले वाग्लेलाई बधाई दिंदै लेखेका छन्, ‘तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा म प्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ। मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु।’

‘तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ। यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोसा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ,’ उनले थप लेखेका छन्।

तनहुँ- १ मा वाग्ले ३४ हजार ९१८ मतसहित विजयी हुँदा भट्टराईले २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहेका थिए।

१२ बैशाख, २०८०, ०८:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।