तस्करले चम्पा र चिम्पुलाई नाइजेरियाबाट नेपाल ल्याएर टुहुरो बनाए, रामकाजीले आफ्नै सन्तानझैँ हुर्काए
सन् २०१७ मा नाइजेरियाबाट टर्की हुँदै तस्करमार्फत चम्पा र चिम्पु नेपाल आइपुगे।
तस्करहरू जेल गए। तर, आवश्यक प्रमाण नपुगेको भन्दै चम्पा र चिम्पु भने यतै रहे।
चिम्पाञ्जीका लागि नेपालको हावापानी त्यति सुहाउँदो हैन। उनीहरू नाइजेरियाको गर्मी हावापानीमा जन्मिएका थिए। नेपालसम्म आइपुग्दा दुवै धेरै कमजोर भइसकेका थिए। चम्पालाई त निमोनियासमेत भइसकेको थियो।
उनीहरूको बासस्थान बन्यो जावलाखेलमा रहेको सदर चिडियाखाना। उनीहरूको स्वामित्व पाएलगत्तै प्रशासनको सबैभन्दा पहिलो चुनौती थियो- कसरी बचाउने उनीहरूलाई ?
रामकाजी पहारीले चिडियाखानामा काम गर्न थालेको पाँच वर्ष भइसकेको थियो। तर उनको मुख्य जिम्मेवारी थियो भेटेनरी चिकित्सकको सहयोगी। अनि दाना जोख्ने। उनले कुनै जनावर हुर्काएका भने थिएनन्। चिडियाखाना प्रशासनले के देख्यो कुन्नी ! यी दुवै चिम्पाञ्जी हुर्काउने जिम्मा उनले पाए।
उनले टेलिभिजनमा चिम्पाञ्जी देखेका थिए। पहिलो पटक आफ्नै आँखा अगाडि देखेनन् मात्र बचाउने र हुर्काउने जिम्मा पनि पाए। समस्या अब कसरी बचाउने अनि हुर्काउने भन्नेमै थियो।
'बुढो होला, मर्न लागेको भएर उद्धार गरेर ल्याको होला भनेको त बच्चा पो रहेछ’, उनले उकेरासँग अनुभव बाँडे, 'त्योभन्दा अगाडि चिम्पाञ्जी भनेको थाहै थिएन। सुनेको मात्र थिएँ। मैले त कस्तो बुढो होला, मर्न लागेको भएर ल्याएको जस्तो लाग्यो। तर, पछि थाहा पाएँ, यो त बच्चा पो रहेछ।’
उनले हुर्काउने जिम्मा पाएको बेलामा ‘चिम्पु’ को उमेर तीन महिना र अनि ‘चम्पा’को ६ महिना मात्र थियो।
नयाँ देशको नयाँ हावापानी। परिवारबाट टाढा। दुवै बच्चा भएकाले चौबीसै घण्टा रेखदेख गर्नुपर्ने। स्याहारसुसारमा पनि उत्तिकै ध्यान दिनुपर्ने। ठ्याक्कै भन्दा आमाकै भूमिका। रामकाजी दुवैको आमा बन्न राजी भए। अनि चिडियाखानामा उनको नयाँ दैनिकी सुरु भयो।
१० देखि ५ बजेसम्मै उनी व्यस्थत भए। उनले घरमा सल्लाह पनि गर्न पाएनन्। उनीहरू चिडियाखाना आइपुगेको दोस्रो दिनबाटै उनै यतै बस्न थाले।
’यसलाई स्याहार चाहिन्छ, आमाको जस्तै माया चाहिन्छ भनेपछि चौबीसै घण्टा उनीहरू सँगै बसे,’ हुर्काइको समय उनले सम्झिए,’ सँगैचाहिँ सुत्न परेन। तर, राति १०, सवा १० बजेसम्म त दूध नै खुवाउनुपर्ने हुन्थ्यो।’
कहिलेकाहीँ उनको परिवारको सदस्य चिडियाखानामै भेट्न आउँथे। दिउँसोतिर एकछिन समय निकाल्थे अनि चम्पा र चिम्पु राखेको ठाउँमा फर्किहाल्थे।
’मेरो जिम्मामा चिम्पाञ्जी आउँछन् भनेर सोचेको पनि थिइनँ’, उनी भन्छन्, 'पहिलोपटक हेर्दा मान्छेको बच्चा र यिनीहरूमा केही फरक लागेन। तीन, साढे तीन किलोका थिए। तालुमा राम्रोसँग भुत्ला पनि आएको थिएन। जिउमा पनि राम्रोसँग भुत्ला आएको थिएन।’
काखमा राखेर दूध खुवाउँदाको आनन्द
ठ्याक्कै मान्छेकै बच्चाको जस्तो स्वभाव छ उनीहरूको। काखमा लडीबुडी गर्नुपर्ने। अन्य जनावरका बच्चालाई त बोतलमा हालेर सहजै दूध खुवाउन सकिने, तर उनीहरू नमान्ने। काखैमा राख्नुपर्ने। जति गरे पनि दूध नखाएपछि उनले दुवै चिम्पाञ्जीलाई पालैपालो काखमा राखेर ’ल्याक्टोजिन’ र ’स्यार्लेक्स’ खुवाउन थाले। अनि बल्ल उनीहरूले खान माने। अनि बल्ल रामकाजीलाई सजिलो भयो।
दूध खुवाउँदा कहिलेकाहीं रामकाजीको काखमै उनीहरूले दिसापिसाबसमेत गर्दिन्थे। तर उनलाई कहिल्यै घिन लागेन।
'मान्छे र चिम्पाञ्जी उस्तै लाग्यो मलाई त। एकदम आफ्नोपन भयो। अहिले पनि म पहिला जसरी नै खुवाउने गर्छु। यिनीहरूले मलाई निकै माया गर्छन्। मलाई पनि औधी माया लाग्छ,’ भावुक हुँदै उनले सुनाए।
चम्पा र चिम्पुको स्वभाव मान्छेको जस्तै भए पनि जनावर न हुन्। मान्छे नै भए पनि रिस उठ्दा टोक्ने चिथोर्ने हुन्छ नै। तर यी दुवैले अहिलेसम्म रामकाजीलाई चिथोरेनन्। रामकाजी देख्दा दुवै मक्ख पर्छन्, अनि खेल्न आउँछन्।
’आफ्नो बच्चा र चिम्पान्जीमा केही फरक देखिनँ’
नयाँ नयाँ मान्छे देख्यो भने चम्पा र चिम्पुले अलि फरक व्यवहार देखाउँछन्। उनीहरू झम्टिन खोज्ने, कराउने अनि रिसाउने गर्छन्। तर, उनीहरू तीन जना (रामकाजी, चम्पा र चिम्पु) मात्र भएको बेला खेलेरै बस्छन्। यसरी उनीहरूले दिन बिताउन थालेको तीन वर्ष पुग्यो।
यो बसाइमा रामकाजीलाई चम्पा र चिम्पु आफ्नै बच्चा जस्तै लाग्न थालेको छ। केही फरक देख्दैनन् उनी।
चम्पा केटी हो। प्रायः उसलाई बोकिराख्नुपर्छ। रामकाजी भन्छन्, 'यसले अलि बढी माया खोज्छे, धेरै रिसालु पनि छैन, चकचक पनि गर्दिन। अलि लजालु, अनि सोझी छ।'
चम्पालाई छिट्टै रुघा लाग्छ। त्यसैले चिम्पुभन्दा चम्पा अलि कमजोर छे। त्यै भएर रामकाजी चम्पालाई अलि बढी 'केयर' गर्छन्। कहिलेकाहीं चिम्पुले दुःख दिँदा चम्पाले रामकाजीलाई सहयोग पनि गर्छे।
उमेरले चम्पा ठूलो हो। तर, चिम्पु ठूलो देखिन्छ। अनि चिम्पु चै केटा हो। ऊ अलि बढी छुच्चो छ। 'उसलाई त्यति धेरै बोक्न पर्दैन। कोही नयाँ मान्छे देख्यो भने के गरौँ के गरौ हुन्छ, बाङ्गबुङ्ग गर्न खोज्ने स्वभाव छ उसको,' रामकाजी उनीहरूको तारिफ गर्दै सुनाउँछन्, 'बेलाबेला यिनीहरू झगडा पनि गरिहाल्छन्।' तर त्यसबेला भने आफू रेफ्री हुने उनले बताए।
कहिलेकाही घाउ नै हुने गरेर झगडा गर्छन् चम्पा र चिम्पु। तर, केही समयपछि नै उनीहरू मिलेर खेल्न थाल्छन्।
'आफ्नै आमाको दूध खान पाएको भए दुवै अलि स्वस्थ हुन्थे होला,' रामकाजी भन्छन्, 'चम्पा र चिम्पुको स्वभाव पहिलाको जस्तै छ। छोरा र छोरी जस्तै लाग्छ मलाई।’
’छोरीहरूलाई हुर्काउँदा पनि यति गाह्रो भएको थिएन’
रामकाजीका घरमा आमाबा, श्रीमती अनि दुइटा छोरी छन्। ती छोरीहरूलाई हुर्काउँदा पनि यति गाह्रो भएको थिएन, जति उनलाई चम्पा र चिम्पूलाई हुर्काउँदा भयो। भन्छन्, 'बरु दुइटा छोरीलाई धेरै हेर्नु परेको थिएन।'
'आफू कता कता हिँडिन्थ्यो। बच्चाहरूलाई समय दिन पाएको थिइनँ। त्यै भएर छोरीहरूसँग भन्दा पनि बढी आत्मीयता भयो यिनीहरूसँग,’ उनले हाँस्दै भने।
कहिलेकाहीं त उनलाई छोरीहरूले 'बाबाको बच्चाहरू उतै छन्, हामी त को हो र ?' भन्दै जिस्काउँछन्। त्यही भएर आजकल घरमा उनले चम्पा र चिम्पुको कुरा गर्न छाडेका छन्।
अहिलेसम्म चम्पा र चिम्पु दुवै शाकाहारी नै छन्। रामकाजीले दिनेबाहेक बाहिरको खाना उनीहरूलाई खुवाएको छैन। अहिले पनि ल्याक्टोजिन र स्यार्लेक्स नै खान्छन् दुवैले। फरक यत्ति हो, पहिला दिनमा पाँच पटकसम्म दूध खुवाउनुपर्थ्यो, अहिले दूधको मात्रा घटाएर फलफूल पनि खुवाउन थालेका छन्।
स्याउ, केरा, गाँजर, मेवा, अंगुर, मौसमी फलफूल अनि सागपात खुब मिठो मानेर खान्छन् उनीहरू। अहिले उनीहरूलाई खुवाइराख्नु पनि पर्दैन। अगाडि राखिदियो भने आफै कपाकप खान थालेका छन्।
चम्पा र चिम्पूसँगको आत्मीयता
प्रायः उनीहरूसँग खेलेरै दिन बिताउने रामकाजीलाई बेलाबेला दुवै एकैपटक बिरामी हुँदा भने गाह्रो पर्छ।
चम्पा र चिम्पु अहिले २४/२५ किलोका भए। तर रामकाजीलाई उनीहरू सानै छन् जस्तो लाग्छ, केही फरक देखेका छैनन्।
कोरोना महामारीअघि नै ल्याइए पनि त्यसपछि मात्र उनीहरूलाई चिडियाखाना राखिएको थियो। उनीहरूलाई सार्वजनिक गरेपछि रामकाजी बेलुका बस्न परेको छैन।
तीन वर्षसम्म भने उनी सँगै बसे। उनीहरूलाई एक दिन साँझपछि एकैचोटि बिहान १० बजे जाँदा आँखाभरि आँशु बोकेर अँगालो हाल्न आएको सम्झिँदा भावुक हुन्छन् रामकाजी।
अहिले पनि बेलुका जाने घर जाने बेलामा ’ल म गएँ है’ भन्दै उनी जाने गर्छन्। अनि बिहान त्यहाँ पुग्दा ’म आएँ है’ भन्दै पुग्छन् र फलफूल दिने गर्छन्। त्यसपछि दंग पर्दै खुशी भएर खान थाल्छन् चम्पा र चिम्पु।
उनीहरूलाई पहिलाजस्तो रामकाजीले धेरै समय दिन नपर्ने भएको छ। चिसो लाग्न नदिन चौबीसै घन्टा तापक्रमको मात्रा मिलाइएको छ।
'युट्युब हेर्दै आफ्नो तालिम आफै गरेँ'
रामकाजीले चिम्पाञ्जीको स्याहारसुसारका लागि कुनै तालिम लिएनन्। अघिल्लो पटकको जनावरको हेरचाह अनुभव र युट्युबको भिडियो हेरेर नै उनले दुईटा चिम्पाञ्जीलाई हुर्काए। उनीहरूलाई अहिले ठूलो ठाउँमा राखिएको छ।
बेलाबेला उनीहरूको जिब्रोको स्वाद बदल्न चाउचाउ अनि चकलेट पनि दिन्छन् रामकाजी। मिठो मानेर खान्छन् दुवै।
रामकाजी अहिले ४० वर्षका भए। यसअघि मृग, चितुवा, भालु, बाँदरलगायत जनावरसँग काम गरेका उनले चम्पा र चिम्पुजत्ति आत्मीय भने अरूसँग हुन सकेनन्।
’पहिला बोक्नुपर्थ्यो अहिले हात समाएर हिँडे हुन्छ’
चम्पा र चिम्पू हुर्कँदै गएका छन्। जसका कारण रामकाजीलाई सजिलो भएको छ। 'पहिला बोकेर हिँडिराख्नु पर्थ्यो। अहिले हात समाएर हिँडे हुन्छ,' उनी भन्छन्, 'कुन चै धर्मले गर्दा यिनीहरूलाई हेर्न पाएजस्तै लाग्छ कहिलेकाहीं।'
अनि कहिलेकाहीं जिन्दगी जनावरसँगै बित्ने भयो भनी दिक्क पनि मान्छन्। भन्छन्, 'तर फेरि यस्तै त हो जिन्दगी भन्ने लाग्छ अनि खुरुखुरु काम गर्छु।’
बिरुवा हेर्न पुगे तर जनावरको हेरचाहमा खटिए
ललितपुर जिल्लाको गोदावरीमा जन्मिएका उनले चिडियाखानामा काम गर्नुअघि धेरै ठाउँमा फुर्सदिलो समय बिताएका थिए। कामको सिलसिलामा धेरै ठाउँ पुगे। पढाइमा पनि धेरै अगाडि बढ्न सकेनन्। कक्षा ८ सम्म पढेर छाडेका थिए।
परिवार भएपछि भने उनको जिम्मेवारी बढ्न थाल्यो। किसानको घरमा जन्मिएका उनी घरको कान्छो छोरा थिए। तर पढ्न भने सकेनन्। पढाइ छुटेपछि बुबासँगै पुष्प विकास केन्द्रमा बिरुवा हेरचाह गर्ने काम गर्न थाले। जसका कारण उनी चिडियाखानासम्म पुगे।
'घुम्दाघुम्दै चिडियाखाना पो आइपुगेँ। नर्सरीमै काम भनेर आए पनि यहाँ जनावरको डाक्टरलाई सहयोग गर्न पर्यो। चम्पा र चिम्पुलाई हेर्न जुरेको रहेछ, त्यै भएर यहाँ आइपुगेँ,' उनले सुनाए।
वैशाख ११, २०८० सोमबार २३:१४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।