मतगणना नसकिँदै गोविन्द भट्टराईले स्विकारे हार, भने- मैले आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ'

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता गोविन्द भट्टराईले हार स्वीकार गरेका छन्।
मतगणनाको अन्तिम परिणाम नआउँदै उनले सामाजिक सञ्जालमा मतदाताहरूसँग माफी मागेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।
भट्टराईले आफूलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर आफूप्रतिको विश्वास मतमार्फत प्रकट गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
आफूले आफूलाई अब्बल प्रमाणित गर्न नसकेको भन्दै उनले लेखेका छन्- सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
उक्त निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले उनीभन्दा भारी मतान्तरले अगाडि छन्। तनहुँ क्षेत्र नम्बर १ मा अझै २० हजारभन्दा बढी मतगणना हुन बाँकी छ।
वैशाख ११, २०८० सोमबार २१:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।