सल्यानमा अन्यन्त्रित भएर जिप भित्तामा ठोक्कियो, ५ जना घाइते
सुर्खेतः सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सोमबार दिउँसो राप्ती लोकमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका–६ कल्लेखोला मोडमा दुर्घटना भएको हो ।
सल्यानको फलाबाङबाट श्रीनगर आउँदै गरेको लु १ ज ९७२७ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
उनका अनुसार सल्यान शारदा नगरपालिका –१२ अम्रई टाकुराकी ५८ वर्षीया गोमा बोहरा, २९ वर्षीय सागर बोहरा, ३८ वर्षीया कमला बुढाथोकी ३३ वर्षीय गोविन्द बोहरा र ४३ वर्षीय गोपिलाल बोहरा घाइते भएका छन् ।
घाइते सबै यात्रुहरूको सल्यानको श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी खनालले बताए ।
घाइतेमध्ये गोमाको अवस्था गम्भीर रहेको छ, भने अन्यको अवस्था सामान्य रहेको खनालले बताए ।
जिप अनियन्त्रित भई भित्तामा ठोक्किएर सडकमा नै पल्टिएको थियो । जिपचालक शारदा नगरपालिका-१२ का राजेश बोहरा भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
वैशाख ११, २०८० सोमबार १९:५७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।