ठूलो दलको हैसियतका आधारमा गिरीकै नेतृत्वमा फेरि सरकार बन्नुपर्ने एमालेको माग
बुटवलः लुम्बिनीको सबैभन्दा ठूलो दल एमालेले धारा ३ अनुसार सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेको छ।
लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि बहुमतको सरकारबाट बाहिरिएको एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरीकै नेतृत्वमा सरकार बनाउने तयारी थालेको हो ।
विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दाबी पेश गरिसकेका छन् । यद्यपि सरकार आलोपालो गर्ने विषयमा ती दलमा अझै कुरा नमिलेको बताइएको छ ।
एमाले संसदीय दलका नेता रहेका मुख्यमन्त्रीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आह्नवान गर्न आग्रह गरिएको बताए ।
यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए ।
चौधरीले प्रदेश प्रमुख धारा ३ अनुसार जान नमिल्ने जिकिर गर्दै आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भए पनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए ।
उनले भने, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’
नयाँ सरकार गठन गरेर पुनः एक महिनाभित्र विश्वासको मत लिन नसेकेको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने दाबी एमालेले गरेको छ ।
लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।
एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयले अब नयाँ सरकार गठनका लागि कुन धाराअनुसार आह्वान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरूसँग छलफलमा रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, कांग्रेसको २७, माओवादीको १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको ४/४, जनमत र जसपाको ३/३, लोसपाको पनि ३, स्वतन्त्र २, जनमोर्चा र नेकपा एसको १/१ सिट छ।
वैशाख ११, २०८० सोमबार १९:५१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।