१७ औं लोकतन्त्र दिवसः नेताका बोली जहिल्यै उस्तै
काठमाडौंः आज १७ औं लोकतन्त्र दिवस।
२०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरेपछि त्यसै दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन थालिएको हो।
२०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत माओवादीबीच १२ बुँदे समझदारी भएको थियो।
२०६२ मंसिरमा १२ बुँदे समझदारी भएपछि तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएको थियो। २०६२ फागुनदेखि सुरु आन्दोलनमा लाखौँ जनता सडकमा आएका थिए।
लोकतन्त्र दिवसको अवसरमा आज विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन्।
कांग्रेस, एमाले, नेकपा एस राप्रपालगायत नेताहरूले लोकतन्त्र दिवसको उही र सधैंझै उस्तै शुभकामना दिएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्ने बताएका छन्।
'मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटक-पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिने ज्ञात–अज्ञात वीर शहीदप्रति श्रद्धाञ्जलि' उनको शुभकामना दिए।
उनले लोकतन्त्र दिवसको अवसरमा वीर योद्धाको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण सबैले गर्नुपर्ने बताए।
यस्तै, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे।
उनले सार्वभौमसत्ता जनतामा निहित जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक शासन व्यवस्था जीवनपद्धतिको रुपमा विकास हुन जरुरी रहेको बताए।
यसैगरी अर्का पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका बलिया पिलरसहितको संविधानरूपी घर बनाएको, यसमा नपुगेका तला थप्ने तथा सुशासन र समृद्धिको फर्निसिंग गर्ने काम नयाँ पुस्ताले गर्दै जानुपर्छ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले पनि आफूहरू दशकौं अघिको ठाउँमै रहेको भन्दै अवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा उनले अब देश युवापुस्ताले हाँक्ने दाबीसमेत गरे।
पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेलले शुभकामना दिँदै लोकतन्त्र स्थापनाका निम्ति बलिदान गर्ने शहीदप्रति सम्मान व्यक्त गरे।
साथै उनले लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान रहेको बताए।
पूर्वमन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले लोकतन्त्र निरन्तर गतिशील प्रक्रिया भएको बताउँदै विगतका त्रुटि र गल्तीहरूलाई सुधार र परिमार्जन गर्दै पूर्णता प्राप्त गर्न लाग्नुपर्नेमा जोड दिए।
अर्का कांग्रेस नेता गोविन्दराज पोखरेलले भने लोकतन्त्र दिवसको शुभकामना दिँदै पदका लागि ९० प्रतिशत अन्धभक्त नेतृत्वको समर्थनमा निहत्था नेता र शुभेच्छुकको हत्या गर्नेसँग निर्वाचनमा गठबन्धन गरिने ‘राजनीतिक अवसरवाद’ जनताले स्वीकार नगर्ने भन्दै पार्टीप्रति रोष व्यक्त गरे।
यस्तै विवेकशीलका नेता मिलन पाण्डेले भने लोकतन्त्र दिवसमा उप-निर्वाचनले शक्तिशाली सन्देश दिएको बताएका छन्।
नागरिकले नै स्थापित गरेको दल र नेता, नागरिकको पक्षमा काम नगरे नागरिकले नै कुनै पनि बेला लात हान्न सक्ने उनको टिप्पणी थियो।
कांग्रेस नेता डा. मीनेन्द्र रिजालले विगतबाट शिक्षा र अभिप्रेरणा लिन सके अग्रजको सपना र आम नागरिकको चाहनाअनुरूप समाज निर्माण गर्न सम्भव भएको बताए।
नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले आज वसन्त क्रान्तिको उत्कर्ष र नेपाली क्रान्ति सम्पन्न भएको दिनको रूपमा लोकतन्त्र दिवसलाई चित्रण गरिन्।
कांग्रेस नेता गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँदै यसलाई सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरे।
कांग्रेसकै अर्का नेता शेखर कोइरालाले लोकतन्त्र प्राप्तिको विभिन्न कालखण्डमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे।
त्यस्तै कांग्रेस नेता विमलेन्द्र निधिले लोकतन्त्र दिवसलाई तत्कालीन राजा ज्ञानेन्दको 'कु' को विरोधमा सञ्चालित सात दल र माओवादीको शान्तिपूर्ण आन्दोलनको परिणामस्वरुप विघटित संसदको पुनःस्थापित आन्दोलनकारीको सरकार, संविधानसभा र गणतन्त्रका लागि मार्ग प्रशस्त भएको दिनको रुपमा स्मरण गरे।
वैशाख ११, २०८० सोमबार १४:१०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।