ढल्यो लुम्बिनीका मुख्यमन्त्री गिरीको सरकार, पाएनन् विश्वासको मत

ढल्यो लुम्बिनीका मुख्यमन्त्री गिरीको सरकार, पाएनन् विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको सरकार ढलेको छ। आज प्रदेश सभामा उनले विश्वासको मत गुमाए।

मुख्यमन्त्री गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । गिरीलाई मुख्यमन्त्री पदमा टिकिराख्न ४४ सांसदको मत आवश्यक थियो। 

८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गिरीको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। 

सत्ता साझेदार माओवादी केन्द्रलगायत दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत मागेका थिए। 

यसअघि भने गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। उनलाई एमालेसँगै माओवादी केन्द्र, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए। 

गिरी मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देही-२ (क) बाट विजयी भएका थिए।

उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई पराजित गरेका थिए। गिरी एमालेका पोलिटब्युरो सदस्यसमेत हुन्।

वैशाख ११, २०८० सोमबार १३:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।