दोस्रो पटक विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
सत्ता साझेदार माओवादी केन्द्रलगायत दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।
गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। उनलाई एमालेसँगै माओवादी केन्द्र, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए।
तर सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चितजस्तै देखिएको छ। सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार ७४ दिनमै अल्पमतमा परेको थियो।
लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्।
८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ ।
मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्रै देखिएको छ। संविधानको धारा १६८ (२) अनुसार सरकार ढल्ने निश्चित छ।
त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउमा एमाले छ।
वैशाख ११, २०८० सोमबार १२:४६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।