एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबिया भिड्दै, मुलपानी मैदान जलमग्न
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ अन्तर्गत सोमबार नेपाल र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई देशबीचको खेल मुलपानी क्रिकेट मैदानमा विहान ९ बजे हुँदैछ। नेपालले पहिलोपटक मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।
साउदी अरेबियाले भने यही प्रतियोगिताको यसअघिको खेल यहाँ खेलिसकेको छ। यहाँ समूह चरणको एकमात्र नेपालको खेल राखिएको थियो।
दुई खेलमा जितसहित शीर्ष स्थानमा रहेको नेपालले साउदीलाई हराएर आफ्नो जितको लय कायमै राख्न चाहँदा साउदी पनि घरेलु टीमलाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।
आइतबार राति भएको वर्षाका कारण अहिले मुलपानी क्रिकेट मैदानमा पानी जमेको छ। ग्राउन्ड स्टाफले सुपर सपरको माध्यमले पानी सुकाउन लागिपरेका छन्। अहिले भने मुलपानीमा पानी परेको छैन।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पानी पर्ने उच्च सम्भावना रहेको जनाएको छ। काठमाडौंमा दिउँसो र अपरान्ह पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले उकेरालाई बताए।
‘काठमाडौंमा पानी पर्ने सम्भावना छ, अहिले पनि केही स्थानमा हल्का परिरहेको छ,’ उनले भने, ‘केही स्थानमा रोकिएको जस्तो भए पनि दिउँसो तथा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।’
समूह ‘बी’ अन्तर्गतको बहराइन र हङकङबीचको खेल भने विहान ९ बजे नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
वैशाख ११, २०८० सोमबार ०७:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।