पदम लिम्बुको शव यात्रामा ८१ सेल अश्रूग्यास प्रहार, १० जना घाइते
विराटनगर : पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदमकुमार लिम्बू ‘लाजेहाङ’को शव यात्राका क्रममा विराटनगरमा शनिबार झडप भयो।
आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भयो। झडपमा नेपाल प्रहरीका तीन जना सशस्त्र प्रहरीका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भए।
आन्दोलरत पक्षका ४ जना सामान्य घाइते भएको दाबी प्रहरी गर्दा उनीहरूले भने ६ जना सामान्य घाइते भएको बताए।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि तितरवितर पार्न प्रहरीले ८१ सेल अश्रूग्यास प्रहार गर्यो।
गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते पदम लिम्बु लाजेहाङको चैत १० गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।
पहिचान पक्षधरले शहीद घोषणको माग गर्दै शव बुझ्न मानेनन्। सरकारले चैत २४ गते शहीद गरेपछि आन्दोलनरत पक्ष उनको शव बुझ्न तयार भयो। पूर्व निर्धारित कार्यक्रम अनुसार मृत्युको २९ दिनपछि शनिबार अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदान्जलीका लागि शव विराटनगर ल्याइएको थियो।
आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धान्जली सभा गर्ने जानकारी गराएको थियो। तर इटहरीबाट शव राखिएको एम्बुलेन्स अघि आएका लिम्बुवन भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालय अगाडि जान खोजे।
आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुङ्गामुढा गरे। ब्यारिगेट हटाएपछि झडप भयो। आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रूग्यास प्रहार गर्यो। आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको प्रहरीको दाबी छ।
श्रदान्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनावग्रत भएपछि आन्दोनरतपक्षले महेन्द्र चोकमा श्रदान्जली सभा गरेका थिए। श्रदान्जली सभापछि लिम्बूको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारी स्थित उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र संस्था प्रदेश नम्बर १ पून नामाङ्कन संघर्षसमिति गठन गरेर आन्दोलनमा छन्।
पहिचानको पक्षमा पुन: प्रदेशको नामाङ्कनको माग गर्दै आएको छ। उनीहरूले आइतबार सुनसरीको इटहरी र सोमबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
वैशाख ९, २०८० शनिबार २०:५७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।