वाह ! क्या खेल, अन्तिम ओभरमा ४ विकेट
काठमाडौं : आईपीएल २०२३ अन्तर्गत शनिबारको पहिलो खेलको अन्तिम ओभरमा ४ विकेट लिएपछि गुजरात टाइटन्स विजयी भएको छ।
१३६ रनको विजयी लक्ष्य पछ्याएको लखनउ सुपरजाइट्सलाई गुजरातले १२८ रनमा समेट्यो। त्यसका लागि उसले सात विकेट झारेको थियो। त्यसमध्ये पनि अन्तिम ओभरमा चार विकेट।
अन्तिम ओभरमा लखनउलाई चाहिएको थियो १२ रन। बलिङ गर्न आए मोहित शर्मा। स्ट्राइकमा थिए केएल राहुल। ओभरको पहिलो बलमा राहुलले २ रन लिएर आफैँले स्ट्राइक राखे।
दोस्रो बलमा ठूलो सट प्रहार गरेका राहुलको बल जयन्त यादवको हातमा पुग्छ र उनी आउट हुन्छ। त्यसपछि आउँछन् मार्कस स्टोइनिस। उनले पनि पहिलो बलमै ठूलो सट प्रहार गर्न खोज्दा डेभिड मिलरको हातबाट क्याचआउट हुन्छन्।
त्यसपछि ब्याटिङमा आउँछन् दीपक हुडाको। उनका लागि शर्माले ओभरको चौथो बल योर्कर गर्छन्। पहिलो रन लिन सफल भए पनि दोस्रोमा रन पूरा गर्न पाउँदैनन् र आयुष बडोनी रनआउट हुन्छन्।
उनको स्थानमा आउँछन् प्रेरक मनकड। उनी ननस्ट्राइक इन्डमा हुन्छन्।
ओभरको पाँचौं बल शर्माले हुडालाई नै पुनः अर्को योर्कर बलिङ गर्छन्। हुडाले डीप मिडविकेटमा प्रहार गर्छन्। यहाँ पनि पहिलो रन राम्रैसँग लिन्छन् तर दोस्रो रन लिने क्रममा उनी आफैँ रनआउट हुन्छन्।
खेलको अन्तिम बलका लागि स्ट्राइकमा आउँछन् बलर रवि विश्नोइ। उनले शर्माको अन्तिम बलमा बिट हुन्छन् र गुजरातले खेल ७ रनले आफ्नो पक्षमा पार्छ।
त्यसअघि केएल राहुलले ६८, काइल मेयर्सले २४ र क्रुणाल पाण्ड्याले २३ रनको इनिङ खेलेर गएका हुन्छन्। आयुष बडोनी ८ रन बनाएर आउट हुँदा दीपक हुडा २, निकोलस पुरन १ रनमा आउट हुन्छन्।
गुजरातका नूर अहमद र मोहित शर्माले दुई–दुई तथा रसिद खानले एक विकेट लिन्छन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाउँछन्। उसका लागि कप्तान हार्दिक पाण्ड्याले ६६, ह्रिद्दिमन साहाले ४७, विजय शंकरले १० रन जोडे।
बलिङतर्फ लखनउका मार्कस स्टोइनिस र क्रुणाल पाण्डेले समान दुई–दुई विकेट लिन्छन्।
जितसँगै गुजरात ८ अंकसहित चौथा स्थानमा रहँद समान ८ अंक रहेको लखनउ दोस्रो स्थानमा छ।
वैशाख ९, २०८० शनिबार १९:५८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।